रुपन्देही सशस्त्र प्रहरीद्धारा “सडक दुर्घटना” उद्धार अभ्यास

बुटवल । नेपालको भौगोलिक विविधताले देशको यातायात प्रणालीमा गहिरो प्रभाव पर्दै आएको छ । हिमाल, पहाड र तराईको फरक भूभागले सडक संरचनालाई चुनौतीपूर्ण बनाएको छ । हिमाली भेगमा सडक अभाव र दुर्गम ठाउँहरुमा कम यातायातका साधन र धेरै यात्रुको चापका कारणले गर्दा पनि दुर्घटनाको जोखिम बढ्ने गरेको सरोकारवाला निकायहरुको बुझाई रहेको छ ।

सशस्त्र प्रहरी बल नेपाल न २७ गण हेक्वा रुपन्देहीको संयोजकत्वमा सडक दुर्घटनामा संयुक्त उद्धार अभ्यास गरिएको छ । मंगलवार बुटवल उपमहानगरपालिका वडा न ९ नयाँ बसपार्कको प्रांगनमा देखाइएको प्रस्तुति प्रदर्शनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, रेडक्रस र ट्राफिक प्रहरी लगायतका जिम्मेवार निकायहरुको समन्वयात्मक भूमिकामा कसरी उद्धार कार्य गरिन्छ र गरिनुपर्छ भन्ने विषय तथा भूमिका प्रष्ट पार्ने जमर्को गर्नुको साथै दुर्घटनापश्चात् तत्काल घाईतेको प्राथमिकता निर्धारण गरी शीघ थप उपचारका लागि अस्पताल पुर्याउने लगायतको प्रस्तुती देखाइएको थियो ।

बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेयले भने पछिल्लो समय दुर्घटना स्थलमा घाइतेको उद्धारमा लाग्नु भन्दा फोटो भिडियो खिचेर बस्ने छाडा प्रवृत्ति मौलाएको बताए । त्यो गलत प्रवृत्तिलाई हटाउन यस्ता गतिविधिले सहयोग गर्ने जनाउँदै सशस्त्र प्रहरी बलले देखाएको प्रयोगात्मक उद्धारलाई भौतिक रुपमा पनि लागू गर्नुपर्ने सुझाए ।

पहाडी क्षेत्रहरुमा साँघुरा र भिरालो सडकहरुमा नियमित पहिरोको जोखिम र अप्रत्यासित मौसमका कारण सडक दुर्घटनाको सम्भावना पछिल्लो बढ्दो रुपमा छ। तराईमा भने चौडा र समथर सडकहरु भएपनि तीव्र गतिको सवारी ट्राफिक व्यवस्थापनको अभाव र लापरवाहीले दुर्घटनालाई निम्त्याउँदै आएको छ। यद्यपि त्यस्ता सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी यातायात व्यवस्थापन सुरक्षा उपाय र तत्काल उद्धार प्रणालीको विकास गर्न सकेमा घाईतेहरुलाई बचाउन सकिने सशस्त्र प्रहरी बल नेपाल न २७ गण हेक्वा रुपन्देही एसपी आनन्द थापाले बताए ।

उनले भने, हामीले दुर्घटनाको अवस्थामा उद्धार कसरी गर्ने ? भन्ने बारेमा जानकारी दिने उद्देश्यका साथ मजपुर सशस्त्र प्रहरी बल विपत व्यवस्थापन महाशाखाको पत्रादेश अनुसार सडक दुर्घटनामा आधारित रही अन्य सुरक्षा निकाय जिल्ला र स्थानीय विपद व्यवस्थापन समिति, रेडक्रस तथा सरकारवाला निकायहरुसँग समन्वय गरी महत्वपूर्ण विषयमा सडक दुर्घटना उद्धार कार्य प्रस्तुत गरेका हौं । जसरी प्रस्तुतीमा देखाइएको छ, त्यसरी नै भौतिकरुपमा उद्धार गर्ने तिथिको विकास गर्न सकेमा मानवीय क्षति कम गर्न सकिन्छ ।

बुटवल उपमहानगरपालिका उपमेयर सावित्रादेवि अर्याल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका प्रतिनिधि, इलाका प्रहरी कार्यालयका प्रमुख विजयराज पण्डित, ट्राफिक प्रहरीका प्रतिनिधिको उपस्थिती रहेको थियो ।