उधोगी व्यवसायीलाई मुख्यमन्त्रीको आश्वासन, लगानीमैत्री वातावरण निर्माण गर्ने जिम्मा सरकारले लिन्छ


बुटवल, असोज १९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले लगानीमैत्री वातावरण बनाउने जिम्मेवारी सरकारले लिने बताएका छन् । बुटवलमा सम्पन्न रुपन्देही उद्योग संघको ४६ औं वार्षिक साधारण सभामा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण गर्ने जिम्मा लिने भन्दै उद्योगी व्यवसायीलाई आश्वासन दिए ।

मुख्यमन्त्री आचार्यले लगानीमैत्री वातावरण बनाउन तीन तहकै सरकार प्रतिबद्ध भएर लाग्ने र त्यसको समन्वय प्रदेश सरकारले गर्ने बताएका हुन् । ‘सरकार एक्लै केही गर्न सक्दैन, निजी क्षेत्रबाट नै विकास र समृद्धिको आधार खोज्ने हो, उद्योगीहरुका सहस्या पहिचान गरेर कुनै कानुनी समस्या भए समाधान गरेर जान सकिन्छ, त्यही विषयमा छलफल गर्न म समय दिएर तपाईहरुकोमा आएको हुँ’ मुख्यमन्त्री आचार्यले भने ।
प्रदेश सरकारले अगाडि बढाएका औद्योगिक क्षेत्रको विकासको लागि योजनाबद्ध काम हुने उनले जनाए । लुम्बिनी प्रदेश सरकारले तराईका केही जिल्लाहरुमा औद्योगिक क्षेत्र बनाउनेगरी निर्णय गरेको र सो निर्णयहरुको कार्यान्वयन गर्नेगरी काम अघि बढ्ने उनको भनाइ थियो। उद्योगी, व्यवसायीको उत्साहसंग प्रदेशको समग्र विकासको सम्वन्ध जोडिएको भन्दै मुख्यमन्त्री आचार्यले सरकारले उद्योगीमैत्री नीति अलवम्बन गरेको बताए । विकास गर्ने भनेकै नीजि क्षेत्रले हो’मुख्यमन्त्री आचार्यले भने, ‘सरकारले लगानीको वातावरण बनाउँछ । लगानी गरेर विकास गर्ने भनेको नीजि क्षेत्रले हो उनले भने ।

संघीय सांसद बासुदेव घिमिरेले निजी क्षेत्रलाई आवश्यक नीति नियम र लगानीको वातावरण सरकारले बनाउनुपर्ने र स्थानीय उत्पादनलाई बढाउने गरी उपभोक्ताको हितलाई ध्यान दिएर उद्योगीव्यवसायी लाग्नुपर्ने बताए ।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले तीनै तहका सरकारको समन्वयमा मोतीपुर औद्योगिक क्षेत्रलाई सानो आकारमा भएपनि तत्काल चलाउनेगरी समन्वय गरेको बताए ।
संघका अध्यक्ष दिलिप सापकोटाले सरकारले औधोगिक क्षेत्रको सुधार र उद्योग नीतिका लागि ध्यान दिनुपर्ने बताउँदै आफूले संस्थागत रुपमा उठाएका विषयमा गम्भीर ध्यान दिन तीनै तहका सरकारको ध्यानाकर्षण गराए ।
कार्यक्रममा लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष तथा संघका पूर्वअध्यक्ष एजाज आलम, राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरे, एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरे, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधि खरेललगायतले बोल्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी नीति ल्याउन तीनै तहका सरकारसंग माग गरेका छन् ।






















