सुरक्षित यात्राका लागि सडक संजाल चुनौती – यातायाता व्यवसायी

बुटवल, असोज २० गते । चाडपर्वमा यात्रुलाई सहज र सुरक्षित यात्राका लागि पहल भएपनि सडक संजाल चुनौती बनेको यातायात ब्यवसायीले बताएका छन् ।
विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आईतबार बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी प्रालिले आयोजना गरेको शुभकामना तथा सम्मान कार्यक्रममा बोल्ने वक्ताले यात्रुलाई यातायात सेवा सहज बनाउनु पर्नेमा जोड दिएका छन् ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले स्थानिय सरकार नगरबासीहरुको सुविधा र सेवालाई प्राथमिकतामा राखेर काम गर्दै आएको दाबी गर्दै चाडपर्वमा हुने गरेको अपराधिक घटना र ठगी रोक्ने गरी सबै सरोकारवाला निकायहरुसंग काम गर्ने बताए ।
यात्रुहरुको चाप हुने बसपार्कको सुरक्षा गतिविधिलाई सिसिटिभि क्यामराबाट निरिक्षण, सरसफाई, शौचालयलाई ब्यवस्थापन लगायतका काम गरिएको उल्लेख गर्दै सबै नगरबासीको साथ र सहयोग जरुरी रहेको नगरप्रमुख पाण्डेयले बताए ।

पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले आम उपभोक्ताको सुविधाको विषयमा संस्था गम्भीर भएर काम गरेको बताए । चाडपर्वमा बुटवल भित्रने र बुटवलबाट बाहिर जाने सवारीको चाप बढ्ने बताउंदै सुविधासम्पन्न सवारी साधन युरो ६ सम्म प्रालिमा रहेपनि सडकको दुरावस्था र नयां लगानीकर्ता मुख्य चुनौतीका रुपमा देखापरेको बताए ।
उपभोक्तालाई सेवा दिने भनेर ल्याइएको ईभिको नाममा देखिएको दलाली रोक्न तिनै तहका सरकारसंग माग गरे । बुटवलकै गरिमाको रुपमा रहेको अटो भिलेजलाई ब्यवस्थित गर्न समेत नया निर्वाचित टिम र स्थानिय सरकारको पहल जरुरी रहेको अध्यक्ष खरेलको भनाइ छ ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले शान्ति सुरक्षाको विषयको गलत भाष्य बनाउन नबनाउन आग्रह गर्दै आम जनसमुदायको सुरक्षा, सहजताको विषयमा गम्भीर रुपले काम भैरहेको बताए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यष हरिप्रसाद अर्याल, पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल, बुटवल अटो ईन्जिनियरिङ एशोसियसनका अध्यक्ष प्रेम गौचन, प्रालिका वरिष्ठ उपाध्यक्ष नारायण घिमिरे लगायतले बोल्दै नागरिकको सुरक्षा र अधिकारका लागि सबै क्षेत्र जबाफदेही हुनुपर्नेमा जोड दिए । प्रालिले बुटवल अटो ईन्जिनियरिङ एशोसियसनमा निर्वाचित अध्यक्ष प्रेम गौचनसहित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ ।

विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडमा निर्वाचित पदाधिकारीहरुलाई समेत सम्मान गरिएको प्रालिका कोषाध्यक्ष मोहन पिएसले जानकारी गराए ।