बयानपछि पूर्वडीआईजी जोशी फिर्ता भए


बुटवल, कार्तिक ७ गते । सहकारीको पैसा अपचलन तथा ठगिको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीसंग जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले बयान सकेर फिर्ता पठाएको छ ।

सहकारीका पीडितहरुको उजुरीपछि बनेको संसदीय छानविन समितिले दोषी ठहर गरेपछि जोशीलाई गत असोज ६ गते काठमाण्डौंमा पक्राउ गरिएको थियो । उनलाई पक्राउपछि जिल्ला प्रहरी कार्यालय कास्की लगिएको थियो। जोशीलाई सोमबार सरकारी वकिलको कार्यालय भैरहवामा मंगलबार बयान लिईएको थियो ।
पोखराको सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका जोशीको नाम रुपन्देहीको सुप्रिम सहकारीको ठगीमा पनि जोडिएकाले बयानका लागि रुपन्देही ल्याइएको थियो। जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले मंगलबार विहान ११ बजेदेखि सांझ साढे ६ बजेसम्म जोशीसंग बयान लिईएको बताए ।
पौडेलका अनुसार जोशीलाई विभिन्न ५७ वटा प्रश्न तयार गरि सोधिएको थियो। पूर्वगृहमन्त्री रवि लामिछाने र संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीवी) राईबारे बयानमा जोशीले के भनेबारे पौडेलले अहिले केही खुलाउन नमिल्ने प्रतिक्रिया दिए । जोशी गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालिन उपाध्यक्ष रहेका बखत सूर्यदर्शन र सुप्रिम सहकारीबाट करोडौं रकम गोर्खा मिडियामा लगेकोे छानविन समितिको प्रतिवेदनमा उल्लेख छ।

संसदीय छाविन समितिले सुप्रिम सहकारीबाट गोर्खा मिडियामा १४ करोड २९ लाख ३६ हजार रुपैयाँ अवैधानिक रुपमा लगिएको तथ्य बाहिर ल्याएको थियो। प्रहरीका अनुसार सुप्रिम सहकारीमा १० हजार ३९१ जना सर्वसाधारणको ७८ करोड बढी बचत रकम अपचलन भएको छ। सुप्रिम सहकारीमा ठगी आरोपमा अहिलेसम्म अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
प्रहरीले अनुसन्धानका लागि रवि लामिछानेलाई पक्राउ गरेपछि रास्वपाका नेता तथा कार्यकर्ताको बिरोध प्रदर्शनलाई चौतर्फी बिरोध भएको छ ।
सही प्रकारले अनुसन्धानका लागि प्रहरीलाई सघाउन छोडर रास्वपालाई आग्रह गरेका छन् ।



















