रविबारे तोसिमाको आक्रोशः पर्याप्त‌ बयान नलिने, म्याद‌ थपिरहने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गत कात्तिक ३ गतेदेखि कास्की प्रहरी हिरासतमा छन् ।
सहकारीको बचत हिनामिना प्रकरणमा पक्राउ परेका रविलाई दोस्रो पटक थपिएको म्याद सकिएको छ । अब तेस्रो म्यादका लागि मंगलबार अदालतमा लगिँदैछ ।

यसअघि नै रविको बयान सकिएकाले मंगलबार कास्की जिल्ला अदालतमा थुनछेकको बहस अघि बढ्न सक्ने छ । यस्तोमा रास्वपा सांसद डाक्टर तोसिमा कार्कीले रविसँग पर्याप्त‌ बयान पनि नलिई नै म्याद‌ थपिरहेको गुनासो गरेकी छन् ।

उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा जनताको प्रतिशोधको आँकलन गर्लान् कि भन्ने डरले रिहा भइसकेको समाचार तथा सूचना प्रवाह गरेको दाबीसमेत गरिन । कार्कीले निष्पक्ष रुपमा अनुसन्धान र न्यायको प्रक्रिया अगाडि बढाउन पनि सरकारलाई आग्रह गरेकी छन् ।

यसो भनिन् तोसिमाले
यता थुनामा राखिरहने,‌ अनुसन्धान पनि नगर्ने,‌ पर्याप्त‌ बयान पनि नलिने अनि म्याद‌ चाहिँ थपिरहने । उता जनताले प्रतिशोधको आँकलन गर्लान् कि भन्ने डरले रिहा भइसक्नुभयो भन्ने भ्रमपूर्ण समाचार तथा सूचना प्रवाह गरेर आमजनसहभागिता तुहाउन खोज्ने । वा गज्जबको राजनीतिको प्रत्यक्षदर्शी हुँदै छौँ हामी । थुनामै रहेको व्यक्तिलाई छुटिसक्यो भनेर भ्रम नछरियोस् । निष्पक्ष तरिकाले अनुसन्धान र न्यायको प्रक्रिया अगाडि बढाइयोस्। दोषी नछुटोस् निर्दोष नफसोस् ।