बर्सेनि डेंगी संक्रमण बढ्दै


काठमाडौँ । डेंगीको संक्रमण वर्षेनी बढ्दै गइरहेको चिकित्सकहरूले बताएका छन् । विगतको तथ्याङ्कका आधारमा हेर्दा वर्षेनी डेंगी संक्रमण बढिरहेको उनीहरूको दाबी छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क हेर्ने हो भने गत वर्षको तुलनामा यस वर्ष हरेक महिनामा कम संक्रमित फेला परेका छन् । तर सङ्क्रमणको जोखिम कम भने नरहेको सरकारले बताएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले प्रत्येक आउट ब्रेकसँगै थप कडा रूपमा डेंगी प्रस्तुत भइरहेको बताए । उनले आगामी वर्षहरू झनै चुनौतीपूर्ण बन्ने बताए । उनले यस वर्ष तनहुँमा आउट ब्रेक भएको बताए ।
काठमाडौं, तनहुँ, पर्वत, ललितपुर चितवन जिल्ला डेंगीबाट बढी प्रभावित भएका जिल्लाहरू हुन् । गण्डकी प्रदेशमा देशभर देखिएको डेंगीका केसहरुमध्ये ५० प्रतिशत केस फेला परेका छन् । अहिलेसम्म हुम्ला बाहेकका सबै जिल्लामा डेंगी फैलिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भनाइ छ । त्यस्तै डेंगी लागेका १२ जनाको पनि गत जनवरी यता मृत्यु भएको छ । अहिलेसम्म २८ हजार २१२ जनामा संक्रमण भएको सरकारको तथ्याङ्क छ ।

उनले कोभिड सकिएपछि डेंगी झनै घातक भएर आएको र आगामी वर्षहरूमा महामारीको रुप लिन सक्ने चेतावनी दिए । डेंगीले सताइरहँदा समेत आम सर्वसाधारणमा भने चासो दिएर हेरचाहमा नलागेको गुनासो उनको छ ।
विगतको तथ्याङ्कलाई आधार मान्ने हो भने डेंगीको संक्रमण दर वर्षेनी बढ्दो छ । वर्षेनी प्रकोप सँगसँगै यसले सङ्क्रमितको सङ्ख्या बढाइरहेको अवस्था छ । यसले मृत्युदर पनि बढाइरहेको छ ।
सीमित ठाउँमा पहिला देखिने गरेको डेंगी अहिले हरेक ठाउँमा गइरहेको छ । पछिल्लो समय तनहुँमा जुन आउटब्रेक भयो भनिएको छ, यसले पनि के सङ्केत गरेको छ भन्दा नेपालको कुनै पनि ठाउँमा एडिस प्रजातिको लामखुट्टेले सहज तरिकाले जीवन चक्र चलाइरहेको ठाउँ रहेछ भने आगामी वर्ष कुनै पनि समयमा त्यहाँ ठूलो सङ्ख्यामा महामारी निम्त्याउन सक्छ भन्ने सङ्केत अहिले तनहुँको आउटब्रेकले देखाइरहेको छ । कोभिड सकिने बित्तिकै डेंगी झन् घातक रूपमा प्रस्तुत भएर आएको छ । प्रत्येक आउट ब्रेकसँगै थप कडा रूपमा डेंगी प्रस्तुत भइरहेको अवस्था छ । यसलाई नै एउटा आधार मान्ने हो भने आगामी वर्षहरू हाम्रा लागि चुनौतीका वर्षहरु छन् ।






















