सिद्धार्थ केवलकार अनौपचारिक सञ्चालन, आईपिओ खोल्ने तयारी

     बुटवल, कार्तिक २८ गते । बुटवलमा अनौपचारिक रुपमा सिद्धार्थ केवलकार सञ्चालनमा आएको छ । यही दशैंदेखि अनौपचारिक सञ्चालन गरिएको सिद्धार्थ केवलकार लिमिटेडले आईपिओ खोल्ने तयारी गरेको छ ।

विशेष साधारण सभाको आयोजना गरी आईपिओ खोलिने मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी आयोजकहरुले जानकारी गराएका छन् । सिद्धार्थ केवलकार लिमिटेडको चुक्ता पुंजी ६० करोड रहेको छ ।अब १ सय करोड पुराउने तयारी भैरहेको कम्पनीका प्रवन्ध सञ्चालक प्रभुलाल अधिकारीले पत्रकार सम्मेलनमा जानकारी गराए । प्रवन्ध सञ्चालक प्रभुलाल अधिकारी सिद्धार्थ केवलकारमा १ अर्व १० करोड रुपैंया लगानी भएको छ । सर्वसाधारणका लागि १५ करोडको पब्लिक शेयर खोल्ने निर्णय भएपनि त्यसलाई बढाउने तयारी छ ।
बुटवल उपमहानगरपालिकाबाट पाल्पाको तिनाउं गाउंपालिकाको नुवाकोटलाई जोड्ने केवलकारको वटम स्टेशन र टप स्टेशनमा पूर्वाधार निर्माण भईरहेको छ । नुवाकोटको ऐतिहासिकतालाई उजागर गर्दै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने कम्पनी सञ्चालक समितिका अध्यक्ष इञ्जिनियर राजेन्द्रसिंह गुरुङले बताए ।केवलकार निर्माणसंगै नुवाकोटलाई थप पर्यटकीय अकर्षक बनाउने र बटम स्टेशनमा पनि आकर्षक बनाएर सकिएपछि आगामी २०८२ बैशाख १ गते उद्घाटन गर्नेगरी काम भईरहेको प्रवन्ध सञ्चालक अधिकारीले जानकारी गराए ।

केवलकारको दुरी झण्डै २ किलोमिटरको रहेको छ । जसमा २५ वटा गोण्डुला रहेका छन् । एउटा गोण्डुलामा ८ जना यात्रु क्षमता रहेको छ । बटम स्टेशनबाट टप स्टेशनमा पुग्न ९ मिनेटको समय लाग्ने कम्पनीले जनाएको छ, भने अहिले ४८ जनाले प्रत्येक्ष रोजगारी पाएका छन् ।

हाल कम्पनीले प्रति यात्रु ३२५ रुपैंया शुल्क निर्धारण गरेको छ । यसलाई थोरै परिमार्जन गरेर ३५० रुपैंया बनाउन लागिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । केवलकारमा ५ वटा संस्थागतसहित २२७ जना प्रमोटर शेयर सदस्य रहेका छन् ।

गएको दशैंबाट अनौपचारिक सञ्चालन गरिएको केवलकारबाट ७० हजार भन्दा बढी पर्यटकले यात्रागरेर नुवाकोट अवलोकन गरेको जानकारी गराईएको छ ।