दाङ-रुपन्देही सम्पर्क समाज सरसफाईमा


बुटवल । दाङ रुपन्देही सम्पर्क समाज, बुटवलले बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको विशेष सरसफाई अभियानमा जोडिएर सरसफाइमा अभियानमा हातेमालोको रुपमा सामेल भएको छ । प्रत्येक शुक्रबार उपमहानगरले सञ्चालन गर्ने गरेको विशेष सरसफाइ तथा हरियाली प्रवद्र्धन अभियान अन्र्तगत गोलपार्कदेखि लक्ष्मीनगर गेटसम्म सिद्धार्थ राजमार्ग हाइवे सरसफाई गरिएको हो ।

बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेयले हरेक शुक्रवार उपमहानगरले नगरभित्र विशेष सरसफाई अभियान गर्दै आएको बताउँदै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, टोल विकास संस्था र विभिन्न संघसंस्थाहरुको समेत सहभागितामा बुटवललाई सरसफाई, उज्यालो र हरियालीमा नमूना बनाउने गरी सरसफाईलाई निरन्तरता दिईएको बताए । नगरप्रमुख पाण्डेयले सरसफाई सम्बन्धि सचेतना र जरिवाना नीति बनाइएकाले अबदेखि नगर प्रहरीहरु खटाएर फोहर गर्नेलाई कारबाही गरिने जिकिर गरे ।
बुटवल उपमहानगर उपप्रमुख साबित्रीदेवि अर्यालले आफ्नो फोहरलाई आफैले व्यवस्थापन गरेमा सधैं उपमहानगर र संघसंस्थाहरु भेला भएर गर्न नपर्ने बताईन् । उनले थपिन्, हामीले नीति तथा कार्यक्रममा कुनै पनि व्यक्तिले भोला, गुट्खा खाएर जथाभावी फालेको पहिचान भएमा पाँच सयदेखि पाँच हजारसम्म जरिवाना गरिने नियम बनाइएकाले त्यस्तो प्रकारको क्रियाकलाप भेटिए कारबाही गरिने उल्लेख गरिन् ।

बुटवललाई सरसफाई र हरियालीमा सुन्दर बनाउने उपमहानगरको लक्ष्य अनुसार सरसफाईलाई निरन्तरता दिईदै आईएको छ । बढ्दो प्रदूषणले बर्षेनि जलवायु परिवर्तनका असरहरु देखा पर्दै गएकाले हरियाली र फोहर व्यवस्थापनलाई जोड दिनुपर्ने र आफ्नो घर अगाडि आफैले सरसफाई गरेमा फोहर व्यवस्थापनमा धेरै न्यूनिकरण हुने दाङ रुपन्देही सम्पर्क समाज बुटवलका अध्यक्ष रेशम बहादुर महराले बताए । उनले भने, हामीले सरसफाई गरेर फर्किदै गर्दा गोलपार्कबाट छुट्ने छोटोदूरीका बसहरुले बसबाट फोहर बढालेर सडक किनारमा झारेको देखियो, जसले गर्दा जति सरसफाई गरेपनि नहुने भन्दै उपमहानगरले कडाई गर्नुपर्ने सुझाए ।
सरसफाई अभियानमा दाङबाट स्थायी र अस्थायीरुपमा रुपन्देहीमा बस्दै आएका दाङबासीहरुको उपस्थिती रहेको सरसफाई कार्यक्रमका संयोजक एवं समाजका कार्यसमिति सदस्य मोहन यादवले जनाए ।























