दोलखाको सुनखानीमा बृहत स्वास्थ्य शिविर

चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिकास्थित सुनखानीमा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । दिपशिखा धितोपत्र कारोवार कम्पनी प्राली र कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ को आर्थिक सहयोग तथा सु–स्वास्थ्य अस्पताल काठमाडौंको प्राविधिक सहयोगमा सुन्द्रावती युवा सञ्जालले शनिवारदेखि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शिविरलाई सम्बोधन गर्दै बाग्मती प्रदेशसभा सांसद भरत केसीले पछिल्लो समय नशा च्यापिएको र माइग्रेनका समस्या बढ्दै गएको अवस्थामा सो सम्बन्धि शिविर राख्नु निकै लाभदायिक प्रभावकारी हुने बताए । तीन दिनसम्म चल्ने शिविरमा नशा च्यापिएको, कम्मर दुख्ने, गर्धन दुख्ने, घुँडा दुख्ने, माईग्रेन, बाथ तथा पिनाश लगायतका बिरामीहरुको उपचार गरिने सुन्द्रावती युवा सञ्जालका अध्यक्ष उत्तम ओलीले बताए ।

उनले भने, हामीले शिविरमा फिजियो थेरापी, अकुपञ्चर तथा प्राकृतिक चिकित्सा पद्धतीबाट पनि विरामीहरुको उपचार गर्ने प्रवन्ध गरेका छौं । बिरामीहरुको उपचारका लागि कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ स्थित मिलडाँडामा बेड सहितको व्यवस्था मिलाईएकाले समस्या भएका स्थानीयहरुले सहजैरुपमा लाभ लिन सकिनेछ ।

शिविरको पहिलो दिन आज २ सय ३ जनाले स्वास्थ्य सेवा लिएकोमध्ये १ सय ४१ जना पुरुष र ६२ जना महिला रहेको आयोजकले जनाएको छ । शिविरमा ९० वर्ष उमेर समुहका बृद्धबृद्धाले समेत सेवा लिएको जनाईएको छ ।

उद्घाटन कार्यक्रममा सांसद भरत केसी, कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुन शिवाकोटी, उपाध्यक्ष कुलबहादुर बुढाथोकी, वडा अध्यक्ष सूर्यबहादुर आचार्य लगायतले धारणा राखेका थिए । संस्थाले यसअघि रक्तदान, खेलकुद प्रतियोगिता लगायतका सामाजिक कार्यक्रमहरु गर्दै आएको छ ।