जोशीलाई काठमाडौँ लगियो, कुमारलाई फिर्ता, रविको तयारी


काठमाडौँ । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई मंगलबार साँझ कास्कीबाट काठमाडौँ ल्याइएको छ । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा गत असोज ६ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका जोशीलाई काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएकाले बयानका लागि काठमाडौँ ल्याइएको हो ।

उनलाई मंगलबार साँझ विमानमार्फत काठमाडौँ ल्याइएको हो । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा लगिएको छ । जोशीसँग सरकारी वकिलको कार्यालयमा बुधबारबाट बयान लिने तयारी प्रहरीको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौँ जिल्ला अदालतबाट पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने, पूर्व डीआईजी जोशी, कुमार रम्तेलसहित २१ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

यसअघि कुमार रम्तेललाई पनि काठमाडौँ ल्याएर बयान लिइएको थियो । रम्तेललाई बयान सकेर मंगलबार पोखरा नै फर्काइएको छ । जोशीको पनि बयान सकेर पोखरा नै फर्काइनेछ । त्यसपछि लामिछानेलाई काठमाडौँ लैजाने तयारी प्रहरीको छ ।






















