दुर्गा प्रसाईँलाई पाँच दिन म्याद थप

काठमाडौँ । साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतमा आज उपस्थित गराइएका प्रसाईँलाई न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

नेपाल प्रहरीको साइबर ब्युरो (सीआइबी) ले प्रसाईंमाथि अनुसन्धान गरिरहेको छ । मंगलबार पक्राउ परेका प्रसाईँले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको अर्बौँ डलर लगानी रहेको भन्दै विभिन्न कागजात राखेर भिडियो सार्वजनिक गरेका थिए ।

सामाजिक सञ्जालमार्फत अफवाह फैलाएका प्रसाईँविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ । उनीविरूद्ध किर्तेलगायत अन्य कसूरमा पनि अनुसन्धान हुने बताइएको छ । प्रसाईँमाथि पहिलेदेखि नै विभिन्न अपराधमा अनुसन्धान भइरहेको थियो । यसअघि मेडिकल व्यवसायी प्रसाईँ यसअघि असोज ६ गते पक्राउ परेका थिए ।

साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । उनी सो मुद्दामा एक लाख रुपैयाँ धरौटी बुझाएर नौ दिन हिरासतमा बसेर रिहा भएका थिए ।