वर्तमान सरकारमा जस्तो कमजोर सुशासन इतिहासमै थिएनः वर्षमान

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले इतिहासमै अहिलेजत्तिको कमजोर सुशासन कहिल्यै नभएको बताएका छन् । गृहजिल्ला रोल्पाको रुण्टीगढी गाउँपालिका–४ मा बिहीबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पुनले र्दुइ ठूला दल काँग्रेस र एमालेको सरकार बनेपछि सुशासन कमजोर भएको र भ्रष्टाचार बढेको बताए ।

सहकारी ठगी प्रकरणमा उस्तै गल्ती गर्ने अरुमाथि कारबाही भए पनि सत्तारुढ काँग्रेस र एमालेका नेतालाई छानीछानी उन्मुक्ति दिने काम भएको उनको भनाइ थियो । ‘उस्तै गल्तीमा एउटामाथि कारबाही भएको छ । उस्तै घटनामा काँग्रेस–एमाले नेतामाथि कारबाही त परको कुरा बोलाएर सोधपुछ गर्ने र छानबिनको दायरामा राख्ने समेत काम भएको छैन, पुनले भने ।

यस्तै उनले मानव तस्करसँग मिलेर युवाहरुलाई जापान लैजाने कोशी प्रदेशका पूर्वआन्तरिका मामिलामन्त्री एवं एमाले सांसद लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएकोमा सरकारप्रति आपत्ति जनाए ।

‘मानव तस्करसँग मिलेर मान्छे लगेकामा जापानले डिपोर्ट गरेको छ । प्रहरीले १२ जनामाथि मुद्धा चलाउनुपर्ने प्रतिवेदन दिन्छ । तर, सरकारी वकिललले बिचौलियाको पैसामा जापान जाने मन्त्रीबाहेक ११ जनामाथि मुद्धा चलाउँछ, मानव तस्करीजस्तो गम्भीर अपराधमा मुछिएका एमालेका मन्त्रीलाई उन्मुक्ति दिन्छ, पुनले भने, ‘पैसा खानेलाई उन्मुक्ति पैसा बुझाउनेलाई चाहिँ कारबाही ? कांग्रेस–एमालेको सुशासन यस्तो छ ।

लोकतन्त्रमा संधिवान, कानून र स्थापित विधिभन्दा माथि कोही नरहेकोमा पुनले जोड दिए । पुनले ०४६ देखि ०६२ सम्म जनताबाट तिरस्कृत काँग्रेस–एमालेलाई आफूहरुले १२ बुँदे सहमतिमार्फत् गणतन्त्र, संविधान लेखन र परिवर्तनको प्रक्रियामा ल्याएपछि जनताले माफी दिएको बताए ।

‘संविधान र परिवर्तनका एजेण्डा उल्ट्याएर आफनाले जतिसुकै ठूलो भ्रष्टाचार गरे पनि उन्मुक्ति दिने र अरुले बोल्दा पनि प्रतिशोध लिने प्रवृत्ति हाबी भएको छ, उनले भने । अहिले फेरि संविधान संशोधनका नाममा परिवर्तनको प्रक्रियाबाट पछि हट्न खोजेकाले दुई दल दण्डित हुने चेतावनी पुनको थियो । पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला सुशासनको पक्षमा भ्रष्टाचारविरोधी अभियान चालिएको दाबी गरे ।