उपनिर्वाचन: कालीकोट-जुम्ला सडक दिनभर बन्द


कालीकोट । उपनिर्वाचनलाई लक्षित गरेर आज कालीकोट-जुम्ला सडक १३ घण्टा बन्द हुने भएको छ । सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

कालीकोट-जुम्ला सडकअन्तर्गत तिलागुफा नगरपालिका ६ खल्लागाडबाट वडा नं १ नाग्म बजारसम्म १३ घण्टा सडक बन्द हुने भएको हो । तिलागुफा नगरपालिका ४ राँचुलीमा वडाध्यक्षका लागि उपनिर्वाचन हुने भएकाले सो दिन यातायातका साधन बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।
सुरक्षा संवेदनशीलतालाई लिएर कालीकोट-जुम्ला सडकको खल्लागाडबाट नाग्मबजारसम्म अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधन नचल्ने उनले बताए । मङ्सिर १६ गते आइतबार बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म यातायातका साधन चल्न रोक लगाइएको छ, उनले भने, स्थानीय तह उपनिर्वाचन २०८१ मङ्सिर १६ गते हुने भएकाले शान्ति सुरक्षा कायम राख्न र निर्वाचन आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन गर्न यातायातका साधन चल्न रोक लगाइएको हो ।

तिलागुफा नगरपलिका ४ राँचुलीमा वडाध्यक्ष पदका लागि आज निर्वाचन हुँदै छ । बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । उपनिर्वाचन हुने दिन वडा नं ४ मा सार्वजनिक बिदा दिइएको तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले बताए ।
निर्वाचनका दिन सबैले मताधिकार पाऊन भनेर वडामा बिदा दिने निर्णय गरेका छौँ, उनले भने, वडाभित्र निजी क्षेत्रबाट सञ्चालित औद्योगिक, शैक्षिक वा अरु प्रतिष्ठानमा पनि बिदा दिन भनिएको छ ।






















