आस्थाको आधारमा पत्रकार महासंघमा विभेद


बुटवल, मंसिर १७ गते । प्रगतिशील पत्रकार संघले नेपाल पत्रकार महासंघकोे सदस्यताको सम्बन्धमा अझै पनि आस्थाको आधारमा भेदभाव गरिएको भन्दै त्यसको विरोध गर्ने बताएको छ । अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा २०८१ मङ्सिर १७ गते सोमबार जारी पे्रस विज्ञप्तिमा प्रगतिशीलले सो धारणा व्यक्त गरेको हो ।

मङ्सिर १७ गते नै बसेको केन्द्रीय समिति बैठकको निर्णयसमेत सामेल गरिएको सो विज्ञप्तिमा महासंघकोे सदस्यता सम्बन्धमा केही सकारात्मक प्रवृत्ति देखा परेपनि कपिलवस्तु, दाङ लगायतका जिल्लामा समस्या देखा परेको विज्ञप्तीमा उल्लेख छ ।
महासंघकोे चुनावमा सहकार्यबारे सचिवालयले निर्णय गर्ने, यही मंसिर २२ गते संगठनको अठारौँ स्थापना दिवस मनाउने तथा चितवनका बसन्त ढुङ्गाना र सिन्धुपाल्चोकका ज्ञानेन्द्र तिमिल्सिनालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको निर्णय समावेश गरिएको विज्ञप्तिको पूर्णपाठ यस्तो छ ः

“प्रगतिशील पत्रकार संघ, नेपालको २०८१ मङ्सिर १७ गते सम्पन्न केन्द्रीय समितिको भर्चुअल बैठकका निर्णयहरू सार्वजनिक गर्न यो प्रेसविज्ञप्ति सार्वजनिक गरिएको छ ।
१. नेपाल पत्रकार महासंघले आगामी मङ्सिर २८ गते तीनै तहको निर्वाचन घोषणा गर्नुका साथै कात्तिक मसान्तसम्म मतदाता नामावली सार्वजनिक गर्ने बताएको थियो तर अहिलेसम्म नामावली सार्वजनिक भइसकेको छैन । सदस्यता नामावली तयार पार्ने सन्दर्भमा कतिपय जिल्लामा केही सकारात्मक प्रवृत्ति देखा परेपनि कपिलवस्तु, दाङलगायतका जिल्लामा वैचारिक आस्थाकै आधारमा हाम्रो संगठनसम्बद्ध क्रियाशील पत्रकारलाई महासंघकोे सदस्यताबाट वञ्चित गराइएको छ । यस खालको गलत प्रवृत्तिको विरोध गर्दै समस्या देखा परेका जिल्लास्तरबाट तालाबन्दी वा अदालत जाने जस्ता विभिन्न विकल्पमा जाने निर्णय गरिएको छ । सो संर्षसलाई प्रदेश र केन्द्रीय समितिले अगाडि बढाउने छ ।
२. पत्रकार महासंघकोे चुनावसित सम्बन्धित सहकार्यबारे निर्णय गर्ने जिम्मा सचिवालयलाई दिइएको छ ।
३. आगामी मङ्सिर २२ गते हाम्रो सङ्गठनको अठारौँ स्थापना दिवस पर्दछ । स्थापना दिवसको कार्यक्रम केन्द्रदेखि जिल्लास्तरसम्म विविध कार्यक्रमसहित सम्पन्न गर्ने निर्णय भएको छ ।
४. केन्द्रीय समितिको वैकल्पिक सदस्यमा चितवनका बसन्त ढुङ्गाना र सिन्धुपाल्चोकका ज्ञानेन्द्र तिमिल्सिनालाई नियुक्त गरिएको छ ।”























