रविको बयानः स्वर्णलक्ष्मीबाट जीबीले आफू गोरखा मिडियामा जानु अगाडि ऋण लगेको दाबी

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगातार ३ दिन बयान दिएका छन् । कास्कीको पोखराबाट काठमाडौं ल्याइएका रविले शुक्रबार, आइतबार र सोमबार काठमाडौंस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित भएर बयान दिएका हुन् ।

गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका रविले बयानका क्रममा कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीबाट लिएको ऋण आफ्नो नभई संस्थागत भएको बताए । स्वर्णलक्ष्मीबाट गोरखा मिडियामा २ करोड २८ लाख ९८ हजार ४ सय ८० रुपैयाँ गएको देखिन्छ ।

सरकारी वकिलको प्रश्नमा रविले स्वर्णलक्ष्मी सञ्चालक समितिको अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई आफैं रहेको र उनले नै गोरखा मिडियालाई ऋण दिएको हुन सक्ने जवाफ दिएका हुन् । रवि गोरखा मिडियामा १५ प्रतिशत शेयर प्राप्त गरेका साझेदार र बैंक खातामा हस्ताक्षर चल्ने अखियारीसहितको प्रबन्ध निर्देशक भएका हैसियतले उनलाई ऋणको कानूनी जवाफदेहिताबारे प्रश्न सोधिएको थियो ।

‘साझेदारले कम्पनीबाट तलब लिने, कम्पनीको नाफामा अंशियार हुने, तर कम्पनीले गरेका कुनै पनि गैरकानूनी कसुरमा भागीदार नहुने कुरा कानूनले कल्पना गर्छ र ?, रविलाई सोधिएको प्रश्नबारे उल्लेख गर्दै एक अनुसन्धान अधिृकतले भने, ‘जवाफमा उनी आफू गोरखा मिडियामा जानुअघि नै जीबीले सहकारीबाट रकम लगिसकेको बयान दिएको बताए ।

तर, स्वर्णलक्ष्मीबाट गोरखा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष जीबी र प्रबन्ध निर्देशक रविको संयुक्त नाममा दुईपटक ऋण लिएको देखिन्छ । उनीहरुको संयुक्त नाममा २०७८ भदौ ७ गते ‘फर ह्वाट एभर लोन’बापत ४६ लाख ९८ हजार ऋण लिएकोमा अझै १४ लाख ७६ हजार ३ सय ६७ रुपैयाँ चुक्ता गर्न बाँकी छ ।

त्यस्तै, २०७८ पुस १ गते ईको सेभेन सोएट भ्यान खरिदका लागि जीबी र रविकै संयुक्त नाममा ४६ लाख ८८ हजार ऋण लिएको पाइएको छ । त्यसमध्ये पनि २९ लाख ५८ हजार ४३३ रुपैयाँ तिर्न बाँकी रहेको देखिन्छ ।

‘तपाईं र जीबीको संयुक्त नाममा स्वर्णलक्ष्मीबाट ऋण लिएको देखियो, जीबी फरार छन्, तपाईं पनि त्यो ऋणको भागीदार बन्नुपर्ने होइन र ? भन्ने प्रश्नमा रविले संस्थागतरुपमा खरिद गरिएका गाडीको ऋणको भार आफूले नभएर संस्थाले नै व्यहोर्नुपर्ने जवाफ दिएका थिए ।

रविले बयानमा जीबीले नै उक्त ऋण चुक्ता गर्नुपर्ने जवाफ दिएको एक अनुसन्धान अधिकृतले बताए । रविको बयान उद्धृत गर्दै ती अनुसन्धान अधिकृतले भने, ‘मैले लोन लिएको प्रमाणका लागि मेरो नागरिकता, मेरो ल्याप्चे र केवाईसी फारम भरेको हुनुपर्ने होला, म विरुद्ध फेला परेका प्रमाणले कानूनी दायित्व बोक्नुपर्ने भए बोक्छु ।

सुप्रिमबाट गोरखा मिडियामा साढे ६ करोड रुपैयाँ ऋण प्रवाह भएको थियो । सुप्रिमलाई तिरेको रकम रवि आफैंले लिएको ऋण हो वा गोरखा मिडियाको ऋण हो यसबारे तथ्य बाहिर आएको छैन । काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त रजौरेले रवि लामिछानेको बयान सकिएपछि कास्की पठाउने जनाए ।