रवि लामिछानेको चितवनमा आजै बयान सकाउने प्रयास


चितवन । सहकारी ठगीसहित चार ओटा आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको चितवनमा बयान जारी रहेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, चितवनमा रविको बयान आज बिहान ९ बजेबाटै शुरु भएको हो । मंगलबार अपरान्ह ४ बजेसम्म उनको बयान लिइएको भए पनि बयान नसकिएपछि आज पनि बयान लिइएको हो ।
सहकारी ठगीमा कास्की प्रहरीको हिरासतमा रहेका सभापति लामिछाने कास्की, रूपन्देही, काठमाडौं हुँदै चितवनमा बयानका लागि मंगलबार लगिएको थियो । तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, शेयर होल्डर तथा प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेमाथि विभिन्न सहकारीवाट रकम लगेको आरोप छ । सोही सिलसिलामा उनी गत कार्तिक २ गतेदेखि हिरासतमा रहेका छन् ।

जीबी राई संलग्न चितवनस्थित साहारा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको थप आरोप उनीमाथि छ । जजसको बयानका लागि उनलाई काठमाडौंबाट चितवन ल्याइएको हो । गत असोज ९ गतेको निवेदन र जिल्ला सरकारी वकिलले दर्ता गरेको मुद्दामा लामिछानेको नाममा किटानी जाहेरी नगरे पनि मंसिरमा हालिएको पुरक जाहेरीमा लामिछानेसहित १७ जना विरुद्ध सहकारीको रकम हिनामिना गरेको आरोप लगाइएको छ । उनलाई पर्सा जिल्लाले पनि पक्राउ पुर्जी जारी गरी बयानका लागि पर्सा लैजाने सम्भावना छ ।






















