दाङ-रुपन्देही समाजद्धारा बुटवलमा पत्रकारहरुको स्वास्थ्य परिक्षण

बुटवल । दाङ रुपन्देही सम्पर्क समाज, बुटवलको आयोजनामा बुटवलका क्रियाशील पत्रकारहरुको निःशुल्क मृगौला परिक्षण शिविर आज सम्पन्न भएको छ । समाजले बिहीवार बुटवलको मेडिक्रस डाएग्नोष्टिक ल्याबरोरेटरीमा एक कार्यक्रमको आयोजना गरी शिविर गरेको हो ।

समाजलाई सूसुचित गराउन भू-गोल, मौसम र अनेकौं परिस्थितिसंग सामाना गर्दै आफ्नो स्वास्थ्यको समेत कुनै प्रवाह नगरी समाचार संकलनमा खटिने पत्रकारहरुको मधुमेह, पिसाबसहित मृगौला परिक्षण गरिएको समाजका अध्यक्ष रेशम बहादुर महराले बताए । उनले भने, देशको चौथो अंग पत्रकारले आफ्नो स्वास्थ्यभन्दा पनि अन्य नागरिक र घटनाहरुको बिषयमा खटिदा पानीसमेत खान नपाउने अवस्थामा रहेर पत्रकारिता गर्नुपर्ने अवस्थालार्ई मध्यनजर गरी शिविरको आयोजना गरिएको हो ।

शिविरमा लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर सागर पौडेलले शरिरमा पानीको मात्रा कम भएपछि विभिन्न प्रकारका समस्याहरु आउने भएकाले पत्रकारिता पेशा आफैमा संर्घषशील भएकाले समाजले राखेको उत्तः शिविर अत्यन्तै महत्वपूर्ण भएको बताए । साथै डाक्टर पौडेलले कर्मसँगै आफ्नो स्वास्थ्यको पनि ख्याल राखेर शरिरमा पानीको मात्रा कमि हुन नदिन पत्रकारहरुलाई आग्रह गरे ।

बुटवलका पुराना पत्रकार तथा नयाँदिशा डटकमका सम्पादक श्यामलाल पोख्रेलले समाजले पत्रकारको स्वास्थ्यलाई स्वस्थ बनाउन राखिएको शिविर सराहनिय रहेको बताउँदै रिर्पाेटमा केही समस्या देखिए ल्याब र डाक्टरको तर्फबाट केही प्रतिशत छूट दिएर थप स्वास्थ्य सेवा दिएर सहयोग गर्न आग्रह गरे । शिविरमा २४ जनाले स्वास्थ्य सेवा लिएको समाजका सचिव एवं शिविर कार्यक्रमका संयोजक पत्रकार नारायण वलीले जनाए ।