बुटवलमा प्रथम मगर साहित्य महोत्सवः मातृभाषा संरक्षणमा गम्भीर बनौंः उपसभामुख

बुटवल। बुटवलमा शुक्रबारदेखि प्रथम मगर साहित्य महोत्सव सुरु भएको छ । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा हुने सुरु प्रथम मगर साहित्य महोत्सव दुई दिनसम्म चल्ने छ । सात वटा विषयमाथि प्यानल बनाएर छलफल गरिने आयोजकले बताएको छ ।

बुटवलको जीतगढी किल्लामा आयोजित महोत्सवको शुक्रबार उपसभामुख इन्दिरा रानाले उद्घाटन गरेकी हुन् । मगर साहित्य महोत्सव पहिलो र नयाँ भएकाले महोत्सवप्रति लेखक तथा साहित्यकारहरुले बढी रुची देखाएका छन् ।

महोत्सवको पहिलो दिन शुक्रबार अन्तरगत पुस्तक प्रदर्शनी, चित्रकला प्रदर्शन, मातृ भाषामा कविता बाचन प्रतियोगिता, पुस्तक विमोचन लगायतका कार्यक्रम गरिएको छ । महोत्सवको पहिलो दिन ‘एक पत्रकारको वकपत्र’ पुस्तकबारे लेखक वरिष्ठ पत्रकार खिध्वज थापासँग साहित्यकार गिरी श्रीसले सहजीकरण गरेका थिए ।

कविता प्रतियोगितामा १० जनाको सहभागिता रहेको थियो भने ३ वटा पुस्तक विमोचन गरिको थियो । महोत्सवमा मानवशास्त्री डा. सुरेश ढकालले भेजा प्रथाः मगर जातिको संगठन र अर्थ सशक्तिकरणको अनुपम दर्शन विषयमा प्रस्तुती दिएको महोत्सव मूल समारोहका प्रवक्ता शंकर गाहाले जनाएका छन् ।

प्रवक्ता शंकर गाहाका अनुसार मगर जाति र मातृ भाषाको प्रश्न विषयमा डा. विष्णु सिंजाली, भाषाविद कर्णबहादुर बुढा, माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदी र सुनछहारी गाउँपालिका अध्यक्ष धनबहादुर पुनसँग सहजकर्ता पत्रकार श्याम रानाले प्यानलमा छलफल चलाएका थिए ।

मगर जातिमा झाँक्री प्रथाका विषयमा गोपाल आचार्यले तयार पारेको ‘आखत’ भन्ने वृत्तचित्र प्रस्तुत गर्नुका साथै सो विषयमा छलफल गरिएको पत्रकार तथा महोत्सव प्रचार समितिका संयोजक यम रानाले जानकारी दिए ।

मगर समुदायको भाषा, साहित्य, ईतिहास र परम्परको संक्षणमा टेवा पुग्नेगरी ‘आफ्नो कथा आफै लेखौं’ भन्ने मूल नारा साथ महोत्सव आयोजना गरिएको नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष तथा मूलक आयोजक समिति संयोजक निर्मला थापाले बताइन् ।

महोत्सवमा गोरेबहादुर खपाङ्गी मगरे सामाजिक योगदान पुरस्कार, आदिकवि जितबहादुर सिंजाली र रेखबहादुर सारु मगर साहित्य पुरस्कार स्थापना गरिने बताईएको छ । महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै उपसभामुख इन्दिरा रानाले मातृ भाषा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिदै मुलुकमा परिवर्तन भएकाले सबैले आआफ्नो पहिचान खोज्नुपर्ने बताइन् ।

बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयले सबै जातजातीको मातृ भाषा र संस्कृतिको संरक्षण गर्नुपर्ने बताउँदै त्यसका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । महोत्सवको समापन पूर्व सभामुख ओनसरी घर्तीमगरले गर्ने जनार्ईएको छ ।