न्यायालय लयमा फर्कियोःप्रधानन्यायाधीश सिंह


काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालय लयमा फर्किएको बताएका छन् । शनिबार वरिष्ठ अधिवक्ता प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले लयमा फर्किएको न्यायालय मात्रै आफूहरूले नचाहेको भन्दै न्यायालयलाई गरिमामय बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

उनले न्यायालय आफैँ गरिमामय नबन्ने भन्दै न्यायालयलाई गरिमामय बनाउने काम सबै कानून व्यवसायीहरूको भएको बताए। गरिमामय न्यायालय, स्वच्छ न्यायालयको न्यायमूर्ति हुने हो भने त्याग, समर्पण, गहिरो अध्ययन, पवित्रता र सार्थकता आवश्यक रहेको बताए।
उनले भने, ‘तपाईँ हाम्रा अथक प्रयासबाट न्यायालय लयमा फर्किएको छ । लयमा फर्किएकोमा मात्रै चित्त बुझाउने हो की ? न्यायालयलाई गरिमामय पनि बनाउने हो ? यो आफैँ गरिमामय त बन्दैन है । न्यायालयलाई गरिमामय बनाउने जिम्मेवारी वर्तमान परिवेशले हामीलाई सुम्पिएको छ । अब यहीँनेर हामीले आफूलाई निर्मम तवरले समीक्षा गर्नुपर्ने देखिन्छ । हामी हाम्रो न्यायालयलाई गरिमामय बनाउन गइरहेका छौँ की छैनौँ, हाम्रा गतिविधि र भूमिकाहरू त्यसतर्फ उन्मुख छन् की छैनन् ? प्रबुद्ध वर्गले यो विचार गर्नुपर्ने भएको छ ।

गरिमामय न्यायालयको वा स्वच्छ न्यायालयको वा पवित्र न्यायालयको न्यायमूर्ति हुने चाहना राख्ने हो भने हामीसँग त्यसले त्याग, समर्पण, गहिरो अध्ययन, पवित्रता र सार्थकताको डिमान्ड गर्दछ । त्यसका लागि हामी तयार छौँ रु म तयार छु । साथ सहयोग पाए र तपाईंहरुसँग सहकार्य गर्न सके न्यायालय गरिमामय नहुने कुरै छैन । एक पटक प्रयास त गरौँ ।






















