हसिनाको बहिर्गमनपछि भारतीय कुटनीतिज्ञ बङ्गलादेशमा


काठमाडौँ । विद्यार्थी नेतृत्वको क्रान्तिमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि उत्पन्न दुई छिमेकी देशबीचको तनाव कम गर्न भारतका उच्च कूटनीतिज्ञ सोमबार बङ्गलादेश पुगे ।

पूर्व प्रधानमन्त्री हसिना प्रशासनलाई भारतले कडा समर्थन गरेको थियो । बङ्गलादेशमा विद्यार्थीले सरकारी जागिरको कोटा प्रणालीमा गरिएको अनियमिततालाई देखाउँदै शुरू गरेको आन्दोलनले उचाइ लिँदा ७७ वर्षीया हसिना आफ्ना परिवारका केही सदस्यसहित हेलिकप्टरबाट नयाँ दिल्लीमा पुगेकी थिइन् ।
बङ्गलादेशले उनको सुपुर्दगीको माग गर्ने घोषणा गरेको छ । नोबेल पुरस्कार विजेता तथा प्रजातान्त्रिक सुधारहरु कार्यान्वयन गर्ने जिम्मा पाएको अन्तरिम सरकारका नेता मुहम्मद युनुसको नेतृत्वको प्रशासनसँग भारतीय कुटनीतिज्ञले औपचारिक छलफलका लागि ढाका पुगेको यो पहिलो अवसर हो ।

भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्र हसिनाको बहिर्गमनपछि दुवै देशका उच्च अधिकारीबीच पहिलो पटक व्यक्तिगत बैठकका लागि सोमबार बंगलादेशको राजधानी ढाका पुगेका हुन्।
दुई देशबीचको सम्बन्धमा गुणात्मक परिवर्तन आएको छ भन्ने कुरालाई स्वीकारर्नु आवश्यक छ, बङ्गलादेशका विदेशमन्त्री तौहिद हुसेनले मिश्रको भ्रमणअघि आइतबार भने । वास्तविकतालाई स्वीकार गर्दै सम्बन्धलाई अगाडि बढाउनुपर्छ, उनले भने ।
मिश्रले ढाकामा रहँदा तौहिद र युनुससँग भेटघाट गर्ने कार्यक्रम थियो । भारतले मुस्लिम बहुल बङ्गलादेशको हसिनापछिको आफ्नो अल्पसङ्ख्यक हिन्दू समुदायलाई सरकारले प्रतिशोधपूर्ण आक्रमणबाट पर्याप्त संरक्षण गर्न नसकेको आरोप लगाउँदै आएको छ ।
गत महिना राजद्रोहको आरोपमा बङ्गलादेशमा एक प्रमुख हिन्दू धार्मिक व्यक्तिको गिरफ्तारीले तनावलाई अझ बढाएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी र यसका समर्थकहरूले आफ्नो सरकारलाई ढाकाको बारेमा थप कठोर अडान लिन आग्रह गरेका छन् ।
युनुसको प्रशासनले हिन्दूहरूमाथि भएको आक्रमणलाई बारम्बार स्वीकारेको छ र निन्दा गरेको छ । कतिपय घटनाहरूमा उनीहरू धर्मभन्दा राजनीतिबाट प्रेरित भएको युनुस प्रसासनको बुझाइ छ ।






















