गम्भीर चेतावनीः गिरीबन्धुको फैसला कार्यान्वयन गर्न सर्वोच्चलाई प्रचण्डको माग


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टिस्टेटको भ्रष्टाचार लुकाउन सरकार सम्पूर्ण शक्तिका साथ लागिरहेको आरोप लगाएका छन् । मंगलबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू नेतृत्वको सरकारले दोस्रो चरणमा गिरीबन्धुको फाइल खोल्न थालेसँगै सरकार फेरिएको बताए । उनले गिरीबन्धुमा सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्ने र भ्रष्टाचारको फाइल खोलिनुपर्ने बताए । उनले भ्रष्टाचार गर्नेहरूमाथि कारबाही हुनुपर्ने बताए ।

उनले भने, ‘मैले दोस्रो चरणमा गिरीबन्धु, सर्वोच्च अदालतले पनि आदेश दिइसकेको थियो । र म गिरीबन्धुको फाइल खोल्ने अन्तिम तयारीमा थिएँ । र अहिले गिरीबन्धुको भ्रष्टाचार रोक्नको लागि सरकार सम्पूर्ण शक्तिको साथ अघि बढेको छ । हामी सबैले यसमा खबरदारी गर्न जरुरी छ । गिरीबन्धुमा सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्यो । त्यहाँ भएको भ्रष्टाचारको फाइल खोलिनुपर्यो । उनीहरूमाथि कारबाही गर्नुपर्यो । यहाँ अर्बौँ भ्रष्टाचार गर्नेहरू, देशभित्र बाहिर सम्पत्ति राखेको आरोप आइराखेको छ । त्यसलाई छानबिनमा सहयोग गर्नुपर्ने ठाउँमा झनै भ्रष्टाचारलाई अझ बढवा दिने जो काम भइरहेको छ । हामी त्यसको निम्ति यो खबरदारी सभाहरूमार्फत सरकारलाई खबरदारी गरी नै रहेका छौँ ।
प्रचण्डले अहिलेको सरकारको नेतृत्व गर्ने राजनीतिक दलमा सम्बन्धित मानिसहरू नै सबैभन्दा बढी सहकारी ठगीमा संलग्न रहेको आरोप लगाए । उनले कांग्रेस र एमालेका नेताहरुले रवि लामिछानेलाई आफ्नो साथमा ल्याउन प्रधानमन्त्रीको अफर गरेको कुरा आफूले देखेको र सुनेको दाबी गरे । उनले लामिछानेलाई पक्राउ गरेको गम्भीर मूल्य एमाले र कांग्रेसले चुकाउनुपर्ने बताए ।























