एनपीएलः लुम्बिनी अन्तिम खेल खेल्दै

काठमाडौँ । लुम्बिनी लायन्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा आज अन्तिम खेल खेल्दैछ । प्लेअफ होडबाट बाहिरिएको लुम्बिनीले अन्तिम खेलमा आज कर्णाली याक्ससँग खेल्न लागेको हो ।

खेल बिहान ९ बजेदेखि शुरु हुनेछ । यो खेल राष्ट्रिय टिमका कप्तान एवं लुम्बिनीका कप्तान रोहित पौडेलका लागि प्रतिष्ठाको खेल पनि हुनेछ । उनी व्यक्तिगत रुपमा सबैभन्दा धेरै रन बनाउने खेलाडी भए पनि टिमलाई भने उचाइमा पुर्याउन सकेनन् ।

यता कर्णाली याक्स प्लेअफ नजिक पुगेको छ । शुरुका दुई खेल हारेपछि निरन्तर तीन जितसहित कर्णाली प्लेअफका लागि दाबेदारी दिन सफल भएको हो । भारतीय चर्चित खेलाडी शिखर धवनका कारण कर्णाली बलियो भए पनिउनी चार खेल खेलेर फर्केका छन् । तर अलराउन्डर दिपेन्द्र सिंह ऐरीको कप्तानीले कर्णाली सफल नै देखिएको छ ।

आजको दोस्रो खेल
आजको दोस्रो खेलमा विराटनगर किंग्स र चितवन राइनोज भिड्दै छन् । विराटनगर प्लेअफ होडबाट बाहिरिइसकेको छ । यद्यपि अंक गणितीय खेलमात्र बाँकी छ ।

त्यस्तै चितवन प्लेअफ नजिक पुगेको छ । ५ खेलबाट ६ अंकको चितवन जित्दा प्लेअफ लगभग पक्का हुनेछ ।

अंक तालिका
६ खेलबाट १० अंकसहित शीर्ष स्थानमा रहेर जनकपुर एक खेलअघि नै प्लेअफमा पुगेको छ । ५ खेलबाट ८ अंकको सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा छ ।

चितवन ५ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा रहेको छ । कर्णाली ५ खेलबाट ६ अंकसहित चौथो स्थानमा रहेको छ । काठमाडौँ गुर्खाज ५ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा पुगेको छ ।

पोखरा ५ खेलबाट ४ अंकसहित छैटौँ, लुम्बिनी लायन्स ६ खेलबाट २ अंकसहित सातौँ तथा विराटनगर ५ खेलबाट २ अंकसहित पुछारमा छ ।

यसअघिका खेल
–२१ औँ खेलमा काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ ।
–२० औँ खेलको विजेताको निर्णय सुपर ओभरबाट भएको छ । विराटनगर किंग्सले १३९ रन बनाएकामा पोखरा एभेन्जर्सले पनि बराबरी स्कोर बनाएपछि सुपर ओभरमा पोखरा १३ रनले विजयी भयो । पोखराले १८ रन बनाउँदा विराटनगर ५ रनमै रोकियो । सुपर ओभरबाट छिनोफानो भएको यो पहिलो खेल हो ।
–१९ औँ खेलमा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित भएको छ । यो हारले लुम्बिनी प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ ।

–१८ औँ खेलमा जनकपुर बोल्ट्स पराजित भएको छ । जारी एनपीएलको पहिलो हार बेहोर्ने क्रममा जनकपुर सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएको हो ।

–१७ औँ खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो । यो खेलमा कर्णालीका लागि अष्ट्रेलियन बलर विलियम बोसिस्टोले २८ रन खर्चेर ६ विकेट लिए ।

–१६ औँ खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको छ ।

–१५ औँ खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग ३३ रनले पराजित भएको छ ।

–१४ औँ खेलमा जनकपुर बोल्ट्सले सनसनीपूर्ण जित हासिल गरेको छ । जनकपुरले लुम्बिनी लायन्समाथि एक रनको सनसनीपूर्ण जित हासिल गरेको हो ।

–१३ औँ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ ।
–१२ औँ खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको छ ।

–११ औँ खेलमा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हासिल गरेको छ । पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको कीर्तिमानी जित हासिल गरेको हो । एन्द्रेस गोसले ५५ बलमा १०४ रन बनाए । यो पहिलो शतक हो ।

–दशौँ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हरायो ।

– नवौँ खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गर्यो ।

– आठौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो ।

–सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लाइन्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गर्दै पहिलो जित हासिल गरेको छ । लुम्बिनीबाट पाएको १९२ रनको फराकिलो चुनौती विराटनगरले १९।५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो ।

– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।

– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।

– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो ।

– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।

–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।

–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।

पहिलो पटक आयोजित एनपीएलमा आठ टिम रहेका छन् ।