सन्दर्भः नेपाल पत्रकार महासंघ निर्वाचन, सिण्डिकेटधारी चुनौति, श्रमजीवी इतिहासको खाँचो


बुटवल । नेपाल पत्रकार महासंघमा संकटको सतही जरो र सिण्डिकेटधारी स्वार्थ समूहको हाबी प्रणालीले महासंघले गति लिन सकेको छैन् । नयाँ प्रविधि, नागरिक पत्रकारिताको विकास र पत्रकारिताको वैश्विक स्तरको प्रतिस्पर्धात्मक वातावरणमा महासंघले आफ्नो भूमिका प्रभावकारी बनाउन नसकेको देखिन्छ । जसका कारण महासंघ सधैं अशक्त छ ।

महासंघ राजनीतिक प्रभावबाट चल्ने भएकाले पत्रकारको संस्था स्वतन्त्र रुपमा चल्न सकेको छैन् । जो विरामी जस्तै ग्रसित छ । पत्रकारको नेतृत्व छान्न पनि राजनीतिक चक्रब्यूहीको राउण्ड टेबलमा घुम्छ । चर्काे राजनीति, गुटबन्दी र पार्टीको भातृ संगठन जस्तै देखिन्छ । यस्तो अवस्थामा महासंघले श्रमजीवी, स्वरोजगारमूलक पत्रकारहरुको वास्तविक मुद्धा र हितका लागि काम गर्न कहिले सक्छ र सिण्डिकेटधारीको जालो तोडेर श्रमजीवीको लागि कसले इतिहास रच्न सक्छ भन्ने आजको चासो भएको छ ।
विगतदेखि निवर्तमान अध्यक्ष विपुल पोख्रेलको नेतृत्वमा समस्या समाधान हुने आशा गरिएको थियो । प्रयास पनि गरिए तर, विडम्वना उनको नेतृत्वमा सिण्डिकेटधारी स्वार्थ समूहको चरम दबदबाले सहासंघ थप संकटमा पर्याे, पत्रकार सुद्धिकरण अभियानमा अवरोध आए, अध्यक्षलाई फेल गराउने रणनीति अपनाइयो, लगायत काम बाँकी राखिएनन् । अन्ततः असफलता बनाउने काम भयो । यो व्यक्ति असफल भएन। र होइन, यो पूरै प्रणाली र सिण्डिकेटधारी गुटहरुको असफलताको परिणाम मानिन्छ ।

नेपाली पत्रकारितामा श्रमजीवी पत्रकारहरुले अपमान, न्यूनतम पारिश्रमिक र भौतिक असुरक्षालाई सामना गर्दै पनि आफ्नो पेशागत इमान्दारिता कायम राखेका छन् । तर, महासंघभित्र सिण्डिकेटधारी समूहले तिनका मुद्दाहरुलाई नजरअन्दाज गरेको छ । गुटबन्दीको राजनीतिले श्रमजीवी पत्रकारहरुको सम्मानित भविष्य निर्माणको लागि आवश्यक सुधार प्रयासलाई रोकिदिएको छ ।
अबको आवश्यकता भनेको श्रमजीवी, स्वरोजगारमूलक पत्रकारहरुको सक्रियता र दबाब हो । महासंघको आगामी नेतृत्वले श्रमजीवी पत्रकारहरुको आवाजलाई प्राथमिकतामा राखेर नीति र संरचनागत सुधार गर्न सक्नुपर्छ ।
नीतिगत सुधारको खाँचो
स्वतन्त्रता र निष्पक्षताः महासंघलाई कुनै राजनीतिक दलको प्रभावबाट मुक्त राख्नुपर्छ । महासंघको नेतृत्व श्रमजीवी पत्रकारहरु, स्वरोजगारमूलक मिडियाहरुको मुद्दामा आधारित हुनुपर्छ । पार्टीगत स्वार्थमा होइन ।
नयाँ प्रविधि र प्रशिक्षणः एआई र नयाँ प्रविधिको विकासका कारण पत्रकारितामा आएका चुनौतीहरुलाई सामना गर्न महासंघले पत्रकारहरूलाई नयाँ सीप र प्रशिक्षण उपलब्ध गराउनुपर्छ ।
आर्थिक पारदर्शिताः महासंघभित्र वित्तीय पारदर्शिता कायम गर्दै आर्थिक अनियमितताका दोषीलाई कारबाही गर्नुपर्छ ।
सिन्डिकेटविरोधी कदमः महासंघलाई सिण्डिकेटधारीहरुको नियन्त्रणबाट मुक्त गराउन ठोस नीतिहरू लागू गर्नुपर्छ ।
महासंघको भविष्य अब मतदाताहरुको विवेकमा निर्भर छ । पत्रकारहरुलाई अब पुराना घिसेपिटे नेतृत्वलाई अस्वीकार गरेर परिवर्तनकारी नेतृत्व चयन गर्नुपर्छ । यस्तो नेतृत्वले श्रमजीवी पत्रकारहरुको मुद्दालाई प्राथमिकतामा राख्दै महासंघलाई पुनर्जीवित गर्ने मार्गतर्फ डोर्याउन सक्छ ।
वास्तवमा नेपाल पत्रकार महासंघ अहिले अस्तित्वको संकटमा छ । यसलाई पुनःजागरण गर्नका लागि नेतृत्वको परिवर्तन, नीतिगत सुधार र श्रमजीवी पत्रकारहरुको सक्रिय सहभागिता अपरिहार्य छ ।






















