एमालेको कारबाहीः भीम रावलबारे सबै नेता तैँ चुप मै चुप


काठमाडौं । नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावलसहितका तीन नेतालाई कारबाही गरेको छ । ०७८ साल मंसिरमा चितवनमा भएको १० औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार रावललाई पार्टीबाटै निस्कासित गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएपछि कर्नरमा पारिएका उनीसँग पार्टीबाटै निकालेर रिस फेरिएको हो ।

यस्तै, असोज २४ गते एमाले मुख्यालयको भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गाविरुद्ध बोल्ने एमालेका दुई नेत्रीविरुद्ध पनि कारबाही भएको छ । स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई जिम्मेवारीबाट ६ महिनाका लागि निलम्बित गरिएको हो ।
निलम्बन गरेपछि एमाले नेतृत्वले आफूलाई राणा शासन जस्तो व्यवहार उनीहरुले गरेको बताइरहेका छन् । पार्टीमा लामो समयदेखि काम गरिरहेका तीन नेतामध्ये रावल ओलीलाई टक्कर दिने नेता हुन् । यता नेत्री पाण्डे र तिम्सिना पार्टीमा नयाँ र युवा पुस्तामा परिचित छन् ।

बिन्दा पछिल्लो समय ओलीको कार्यशैलीप्रति रुष्ट थिइन्। बिन्दा पूर्वराष्ट्रपति विद्या भण्डारीसँग नजिकिएको चर्चा थियो । बिन्दाले कीर्तिपुरको दाने जग्गामा नभई बल्खुस्थित रोपनी जग्गा सरसफाइ गरेर नयाँ भवन बनाउनुपर्ने माग गरेकी थिइन् ।
यता उषाकिरण हाल एकीकृत समाजवादीमा रहेका नेता घनश्याम भुषालको स्कुलिङबाट उदाएकी नेत्री हुन् । घनश्याम अहिले नेकपा एकीकृत समाजवादीका महासचिव छन् । उनी नेकपाको समयमा ओलीको कट्टर विरोध गर्नेमध्ये एक हुन् ।
के भयो सचिवालय बैठकमा ?
बुधबार सचिवालय बैठक करिब ६ घण्टा लामो बसेको थियो । बैठकमा सरकारको काम प्रभावकारी भए नभएको हेर्ने एजेन्डा पनि थियो । तर त्यो एजेण्डठामा लामो समय कुरा भएन । अलमल तीन नेताको कारबाहीमा भयो । एमाले महासचिव शंखर पोख्रेलले कारवाहीको एजेन्डा अगाडि सारे ।
त्यसपछि कारवाहीको विषयमा कुराकानी हुन थाल्यो । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले तीन नेताको विषयमा आफ्ना गम्भीर निर्णय सुनाए । रावललाई पार्टीबाट ननिकाले एमालेमाथि प्रहार हुने र समस्या बढ्ने भन्दै यस्ता विषयमा अब क्षमा दिन नसकिने ओलीले बताए ।
एमालेले रावलसँग वार्ता गर्न ०७९ चैत १८ गते ३ सदस्यीय कार्यदल नै बनाइएको थियो । पार्टीको दसौँ महाधिवेशनबाट पार्टीमै रहेका तर पार्टीको विधान नमानेका कारण रावलसँग वार्ता गरेर सहमतिमा पुग्न उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा रहेको ३ सदस्यीय टोली बनाइएको थियो । तर रावलसँग वार्ता हुन सकेन ।
त्यो टोलीले ओली र रावलको सम्बन्ध सुधार्न सकेन । त्यसपछि रिसाएका ओलीले रावललाई वार्तामा नमानेको या नआएको भन्दै उपाध्यक्ष पौडेललाई सोधेका थिए । उनले पनि वार्ता नभएको भनेपछि रावललाई पार्टीबाट निकाल्ने निर्णयमा पुगे ओली ।
‘पार्टीको निर्णय मानेको छैन । न पार्टी सम्पर्कमा बसेको छ । न त सहयोग गरेको छ । ०७९ को निर्वाचनमा पनि पार्टी सिद्दयाउन लागेको मान्छेलाई पार्टीमा राखेर फाइदा छैन, ओलीले सचिवालय बैठकमा भनेका थिए, ‘यतिबेलासम्म पर्खियौँ, हामीमाथि नै पार्टीको नेता हुँ भन्दै हमला गरिएको छ । छुट्टा–छुट्टै भेला भएको छ । कहिले समाजवादीमा जाने भनेको छ । कहिले नयाँ पार्टी खोल्ने भनेको छ । दादागिरी धेरै भयो । अब फालेपछि लन्ठै साफ ।
ओलीले यसो भनेपछि सचिवालयमा सहभागी नेताहरु केहीबेर शान्त भए । उता वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, महासचिव शंखर पोख्रेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमाल लगायतले पनि रावललाई कारबाही नगरे एमालेलाई ठूलो घाटा हुने मत राखे ।
त्यसपछि रावल एमालेमा फर्किने नफर्किने अवस्थामा के छन् भनेर बैठकमा सल्लाह भयो । बैठकमा उपस्थित एक नेतामा अनुसार रावल एमालेमा नफर्किर्ने बरु नयाँ पार्टी खोल्ने योजनामा रहेकोे कुरा आएपछि सबैले एउटा निर्णय गर्नुपर्ने अवस्था बन्यो । त्यसभन्दा पहिला रावलले कहाँ–कहाँ छलफल गरे र कसलाई कसलाई भेटे भनेर सुदुरपश्चिमका इन्चार्ज तथा सचिव छविलाल विश्वकर्माले रिर्पोट गरे ।
०७९ को निर्वाचनमा रावलको टिकट खोसेर ओलीले झपट बोहोरालाई दिएको प्रसंग पनि उठेको थियो । तर नेताहरुले गल्ती रावलकै भएको औँल्याए ।
एमाले स्रोतका अनुसार ओलीको कार्यशैलीसँग सन्तुष्ट नभएका नेता पनि रावललाई कारबाही गर्ने कुरामा एक मुख भए । विगतमा ‘१० भाइ समूह’ भनेर चिनिएका तर एकीकृत समाजवादीमा नलागेका नेता पनि रावललाई बचाउने विषयमा खरो रुपमा प्रस्तुत भएनन् । उनीहरु रावलमाथि कारबाही गर्नुपर्ने पक्षमा नबोले पनि उनको कार्यशैली ठिक नभएको भन्नेमा उभिए ।
‘१० भाइ समूह’ मध्येका अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रघुजी पन्तले फरक मत राख्ने धेरैले आँकलन गरेका थिए । तर बैठकमा रावललाई कारबाही गर्ने सन्दर्भमा सबैको एक मत भयो, स्रोतले भन्यो । ओलीको कार्यशैलीप्रति रुष्ट उपाध्यक्ष युवराज ज्ञवालीले पनि रावलको कारबाही रोक्न सकेनन् । एक पटक बोलाएर स्पष्टीकरण सोध्ने छलफल भए पनि पटक–पटक रावल नआएको विषय उठेको थियो । त्यसपछि ओलीले रावलको कारबाहीका लागि सबैलाई सहमत गराए । ओलीले राखेको प्रस्ताव सर्वसम्मत पारित भयो ।






















