व्यापार मेलाः व्यावसायिक नीति र लगानीबारे चल्यो बहस

निष्कर्षः नीति निर्माण कमजोर

बुटवल । लुम्बिनी प्रदेशमा लगानीका थुप्रै सम्भावना रहेका छन् । छिमेकी देश भारतसँग सीमा जोडिएको, देशको मध्यभागमा रहेको र पहाडी जिल्लाहरुको व्यापारीक शहरहरु बुटवल, दाङको घोराही, तुलसीपुर र बाँकेको नेपालगंज व्यावसायिक दृष्टिले प्रवल सम्भावना छ । जहाँ, लगानीको प्रतिफल आउने ठाउँ रहेका छन् ।

सोही बिषयमा बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा विहीबार ‘नेपालको व्यवसायिक नीति तथा लुम्बिनी प्रदेशमा लगानीका अवसर’ विषयक गोष्ठी भएको छ । व्यापारिक क्षेत्रका र लगानी सम्बन्धि जानकारहरुको सहभागितामा गोष्ठि भएको हो । गोष्ठीमा जानकारहरुले लुम्बिनी प्रदेशमा लगानीका थुप्रै सम्भावना रहेको सुझाए । उनीहरुले अन्य प्रदेशको तुलनामा लुम्बिनी लगानीको लागि राम्रो सम्भावना र अवसर रहेको जिकिर गरेका थिए ।

राजनीतिक अस्थिरता र अस्थिर आर्थिक नीतिका कारण मुलुकमा लगानीको वातावरण बन्न नसकेको भन्दै राजनीतिक दलहरुको सर्वसम्मतीमा मुलुकको आर्थिक नीति बनाउनुपर्ने र आर्थिक विकास, समृद्धिका लागि संस्थागत सुशासन अनिवार्य सर्तको रुपमा लागू नगरे मुलुकको अवस्था थप जटिल बन्ने सुझाव दिए ।

जानकारहरुले राज्यले सिमा नियमनमा कडाई, प्राकृतिक स्रोत साधनको समुचित उपयोग र निर्यात, कृषिको व्यावसायिक उत्पादन, प्रशोधन र बजारीकरणमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

गोष्ठीले लुम्बिनी प्रदेशमा पर्यटन, कृषि र सूचना प्रविधिको सम्भावना भएको पूर्व अर्थसचिव तथा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका अध्यक्ष रामेश्वर खनाल बताए । गोष्ठीले भूकम्पीय जोखिम पनि न्यून रहेको र देशकै मध्यभागमा रहेकाले लुम्बिनीमा सूचना प्रविधिको क्षेत्रमा पनि राम्रै रहेको उल्लेख गरेका थिए ।

साना तथा घरेलु उद्योगहरुको प्रवद्र्धन गर्न चीनको कोरला नाका सञ्चालन गर्न सकियो भने लुम्विनीलाई आर्थिक कोरिडोरको रुपमा विकास गर्न सकिने दावी गरेका थिए ।

गोष्ठीमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोख्रेलले पृथ्वीनारायण शाहको पालादेखि कायम हुँदै आर्थिक असन्तुलन अहिले पनि विद्यमान रहेको बताए। उनले राजनीतिक दलहरुले २१ औं सताब्दिमा पनि २० औं सताब्दिको समाजवादको वकालत गरिरहेका कारण विकासको मोडल नै कमजोर रहेको ठोकुवा गरे ।

त्यसैगरी राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले श्रम बजार भनेजस्तो नरहेको, पुँजीमा उचारचढाव, उत्पादनमा प्रविधि र व्यवस्थापन पक्ष कमजोर रहेको औंल्याउँदै लुम्बिनीमा कृषि र पर्यटनलाई जोडेर औद्योगिक विकास गर्न सकिने बताए । त्यसका लागि उहाँले सडक सञ्जाल, निर्यात, पर्यटकलाई आकर्षण, प्राविधिक शिक्षालाई रोजगारीसँग जोड्नेगरी राणनीति तयार गर्नुपर्ने बताए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले प्रदेशको दोस्रो आवधिक योजना निर्माणको अन्तिम चरणमा रहेको बताउँदै गोष्ठीबाट आएका सुझावलाई ग्रहण गरिने बताए । मेला कार्यसम्पादन समितिका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले शिक्षालाई सीप, सीपलाई रोजगारी, रोजगारीलाई उत्पादन, उत्पादनमा आयात प्रतिस्थापन र निर्यातसँग जोड्न सकेमात्रै मुलुकको आर्थिक विकास गरी समृद्धि नेपाल निर्माण गर्न सकिने बताए ।