पाँच दशकको साइनो टुटेका रावलः अब के गर्लान् ?

काठमाडौं । अछामबाट राजनीतिमा उदाएका नेता डा. भीम रावलले आधा शताब्दी लामो यात्रा गरेको नेकपा एमालेबाट बाध्यतावश बहिगर्मित हुनु परेको छ । बुधबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले संगठित सदस्यबाट निष्कासनकोे निर्णय गरेसँगै रावलको पार्टीसँगको आधा शताब्दी लामो साइनो टुटेको हो ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीका कट्टर आलोचक रावलका लागि एमालेले बुधबारदेखि पार्टीको ढोका सधैँका लागि बन्द गरिदिएको छ । पूर्वउपाध्यक्ष रहिसकेका रावललाई चितवन महाधिवेशन (१० औँ) मा अध्यक्ष ओलीसँग प्रतिष्पर्धा गरेदेखि नै ‘किनारा’ मा पारिएको थियो ।

एमालेमा ५० वर्षसम्म काम गरिसकेका नेता रावलको सुदूरपश्चिम र कर्णालीमा बलियो पकड छ । उनलाई पार्टीको संगठित सदस्यसमेत नरहने गरी कारबाही गरिएपछि देशभर एमाले कार्यकर्ताले आक्रोश पोखेका छन् । एमालेका नेताहरुलाई अध्यक्ष ओलीको दासको संज्ञा दिँदै कार्यकर्ताहरुको आक्रोश सामाजिक सञ्जालमा पोखिएको छ ।

उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारी सम्हालिसकेका पूर्वगृहमन्त्री रावल २०३० सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेका नेतामा पर्छन् । राधाकृष्ण मैनालीबाट एमालेको सदस्यता लिएका रावल ०४७ मा तत्कालीन कृषि, भूमिसुधार तथा वनमन्त्री झलनाथ खनालका राजनीतिक सल्लाहकार बनेका थिए ।

एमालेले ०४८ को आम निर्वाचनमा रावललाई अछाम–१ बाट उम्मेदवार बनाएको थियो । उक्त निर्वाचनमा उनी नेपाली कांग्रेसका उम्मेदवार बलबहादुर कुँवरसँग पराजित भए । कुँवरले ११ हजार ८५५ मत ल्याउँदा रावलले ७ हजार ३९२ मतमा चित्त बुझाउनु परेको थियो ।

पहिलोपल्ट टिकट पाउँदा पराजय ब्यहोरेका रावललाई एमालेले ०५१ सालमा फेरि उम्मेदवार बनायो । दोस्रो प्रतिष्पर्धामा उनी भारी मतान्तरसहित विजयी भए । नेता रावल १८ हजार ६० मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिष्पर्धी कांग्रेसका गोविन्दबहादुर शाहले १३ हजार ५९ मत पाएका थिए ।

०५१ को निर्वाचनपछि एमाले नेतृत्वको अल्पमतको सरकारमा रावल पहिलोपल्ट मन्त्रिपरिषद् सदस्य बनाइए । स्वर्गीय मनमोहन अधिकारी नेतृत्वको सरकारमा एमालेले उनलाई नागरिक उड्डयन तथा पर्यटन राज्यमन्त्री बनाएर सरकारमा पठाएको थियो ।

०५४ मा नेपालगञ्ज महाधिवेशनमा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित रावल ०६६ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेपछि गठित माधवकुमार नेपाल नेतृत्वको सरकारमा गृहमन्त्री बने ।

०७२ मा संविधान जारी भएपछि गठन भएको ओली नेतृत्वको सरकारमा रावलले उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारी सम्हाले । एमालेको आठौँ महाधिवेशनमा उपाध्यक्षमा पराजित रावलले नवौं महाधिवेशनमा जित निकाले । रावलले चितवनमा भएको १० औँ महाधिवेशनमा ओलीलाई अध्यक्षमा चुनौती दिएका थिए । त्यही चुनौतीबाट शुरु भएको इगोले पछिल्लोसमय रावल एमालेबाटै निकालिएका छन् ।