रहेनन् मानवताका खानीः अमेरिकी पूर्व राष्ट्रपति जिमी


काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । उनको सय वर्षको उमेरमा आइतबार राति अबेर निधन भएको हो । उनको जर्जियास्थित आफ्नै निवासमा निधन भएको हो । उनी क्यान्सर पीडित थिए । सन् १९२४ को अक्टुबरमा जन्मेका कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको ३९ औँ राष्ट्रपति भएका थिए ।

अमेरिकी इतिहासमा सबैभन्दा बढी समय जीवित रहने राष्ट्रपति उनी नै हुन् । कार्टर केही समय मेलानोमा बिरामी पीडित थिए । यो एक प्रकारको छालाको क्यान्सर हो । यो क्यान्सर उनको कलेजो र मस्तिष्कसम्म फैलिसकेको थियो ।
सन् २०२३ मा उनले हास्पिस केयर लिने फैसला गरेका थिए । अर्थात् उक्त केयरमा अस्पतालमा उपचार गर्न अस्वीकार गर्नु हो । तब केही स्वास्थ्यकर्मी र परिवारका सदस्य मिलेर उनको निवासमै हेरचाह गर्दै आएका थिए ।

राष्ट्रपति पद छाडेपछि कयौँ वर्षसम्म उनले आफ्नो संस्था कार्टर सेन्टर मार्फत मानवताको काम गरेका थिए । उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कारसमेत प्रदान गरिएको थियो । कार्टर नेपालमा पनि आएका थिए । उनी सविधान सभा निर्वाचन पर्यवेक्षण गर्न नेपाल आएका थिए ।
उनको निधनमा विश्वभरबाट शोक व्यक्त गरिएको छ । हालका अमेरिकी राष्ट्रपति जो बाइडेनले शोक व्यक्त गर्दै अमेरिका र विश्वले एक असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी व्यक्ति गुमाएको उल्लेख गरेका छन् ।
त्यस्तै नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कार्टरको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै देशको लागि महत्वपूर्ण समयमा जिमीले राष्ट्रपतिको रुपमा चुनौतीहरूको सामना गर्दै अमेरिकी जनताको जीवन सुधार गर्न काम गरेको लेखेका छन् ।
जिमी कार्टरका छोरा चिप कार्टरले समाचार संस्था रोयटर्सलाई जिमी आफ्ना लागिमात्र नभइ ती सबैका हिरो थिए जो शान्ति, मानवअधिकार र निस्वार्थ प्रेममा विश्वास गर्छन् भनेका छन् । जसरी जिमीले मानिसलाई आफ्नो साथमा ल्याउँथे त्यही कारणले आज पूरा विश्व आफूहरुको परिवार भएकोसमेत चिप कार्टरले बताएका छन् ।






















