तीन तत्व ठीक नहुँदा देश बर्बादी तर्फः अध्यक्ष केसी


बुटवल । प्रगतिशील पत्रकार संघ, नेपालको १८ औं स्थापना दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले देशको अवस्था विग्रिनु र सप्रिनुमा तीन वटा तत्वहरु ठीक हुनुपर्ने औल्याउँदै ती तत्वहरु ठीक नभएकोले देशको अवस्था नाजुक बन्दै गएको बताएका छन् ।

उनले राजनीतिक नेता, मिडिया र जनता ठीक भएमात्रै देश र जनताको अवस्था विकसित हुने बताए । पछिल्लो समय नेपाली राजनीतिमा पद र पैसाको लडाइँ भइरहेको बताउँदै ठूला दलहरु भ्रष्टाचारमा लिप्त रहेको जिकिर गरे ।
संघीयता मुलुकको लागि घातक रहेको उल्लेख गर्दै यसलाई खारेज गर्नुपर्ने भन्दै देशले संघीयता धान्न नसक्ने र ठुला पार्टीलाई अहिले घाँडो भइसकेको तर भन्न नसकेको अवस्था रहेको दाबी गरे । साथै अध्यक्ष केसीले नेपाली राजनीतिक दलका धेरै नेताहरुको स्विस बैंकमा पैसा राखेको कुरा बाहिरीदै आएको र राखेको ठोकुवा गरे ।

अहिले देशकै कार्यकारी प्रधानमन्त्री, राष्ट्र प्रमुख जहाँ गयो त्यहीँ ढुङ्गा हान्ने प्रवृत्ति बढ्दै जानु बिल्कुलै राम्रो नभएको जनाउँदै राजनीतिक दलहरुको गतिविधिबाट प्रभावित भएर वितृष्णा भएका जनताहरु निराशाबाट आक्रान्त बन्दै गएकोमा दलहरु समयमै जिम्मेवार बन्नु पर्ने र मिडियाहरुले पनि सकारात्मक रुपमा सत्यतथ्य कलम चलाएर ध्यानाकर्षण गर्नुपर्ने सुझाए ।
प्रगतिशील पत्रकार संघलाई शुभकामना दिदै मिडियाले निष्पक्षरुपमा कलम चलाएर देशलाई अधोगतिमा पुर्याउन तर्फ कलम चलाउन आग्रह गरे ।






















