पूर्वउपराष्ट्रपतिलाई मैंले बोलाएको होइन,आफैँ आउनुभएको होः प्रचण्ड

काठमाडौँ । माओवादीको सक्रिय राजनीतिमा फर्किएका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई आफूलाई पार्टीमा नल्याएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन्।

मंगलबार केन्द्रीय कमिटि बैठक समापनका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष दाहालले पुन आफैँ सक्रिय राजनीतिमा फर्किएको बताएका हुन्। पूर्वराष्ट्रपति र उपराष्ट्रपति फेरि दलीय राजनीतिमा आउनु उचित नभएको भन्दै केन्द्रीय सदस्यहरुले प्रश्न उठाएका थिए।

यसले गणतन्त्रलाई असर गर्ने भन्दै पूर्वविशिष्ट व्यक्तिले पुन दलीय राजनीतिमा आउन नहुने केन्द्रीय सदस्यहरुको धारणा थियो। दाहालले भने, ‘मैले उहाँलाई आउनु भनेको होइन, रिटायर भएपछि म सक्रिय भूमिकामा आउन चाहन्छु भनिरहनुभयो। अनि आमन्त्रितकै रूपमा बोलाएको हो।

प्रचण्डले उनलाई उपयुक्त जिम्मेवारी दिने बताए। पुनसँगै पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी पनि एमालेको सक्रिय राजनीतिमा फर्किने तयारीमा छिन्। दाहालले जवाफ दिएसँगै माओवादीको केन्द्रीय समिति बैठक सकिएको छ।