बागलुङको काठेखोला गाउँपालिकाले जलचर संरक्षण गर्न थाल्यो

बागलुङ, माघ २ गते । बागलुङको काठेखोला गाउँपालिका जलचर संरक्षणमा लागेको छ । समुदायको सहभागिता र नेतृत्वमा जलचर संरक्षण गर्ने तयारी थालिएको गाउंपालिकाका उपाध्यक्ष उपाध्यक्ष तेजबहादुर थापा तिलकलेजानकारी गराए ।

गाउँपालिकाले १६औँ गाउँसभाबाट ‘जलचर एवं जलीय जैविक विविधता संरक्षण ऐन’ ले संरक्षणका लागि समुदायको सहभागिता हुने व्यवस्था गरेको छ ।
समुदायको सक्रियाता र सहभागिताबिना कानुनले मात्र जैविक विविधता र जलचरको संरक्षण नहुने भएकाले संरक्षणमा समुदायको सहभागिता हुनेगरी कानुन बनेको हो ।

अवैधानिक रूपमा जलचरको उपयोगले जलचर लोप हुने खतरा बढेपछि गाउँपालिकाले जलचरको संरक्षण र उपयोग गर्ने कानुनसमेत बनाएको छ ।
गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाका अनुसार ऐन बनेसँगै गाउँपालिकाभित्रका खोलानालाका जलचर तथा जलीय जैविक विविधताको संरक्षणका लागि कार्यविधि बन्ने छ ।
उक्त नीतिअनुसार विपन्न र बेरोजगार तथा परम्परागत रूपमा पेसा अँगालेका नागरिकलाई मात्र जलचरको उपयोग गर्न दिइनेछ । माछा, गङ्गटालगायत जलचरको प्रजननका समय र सङ्कटको समयमा उपभोगमा रोक लगाउने विषय नीतिमा उल्लेख छ । ‘कानुनको कसी र कारबाहीले मात्र संरक्षण सम्भव छैन, त्यसैले हामीले खोला छेउका बस्तीको सक्रिय सहभागिता हुनेगरी समूहमार्फत संरक्षणको नीति ल्याएका हौ उपाध्यक्ष थापाले भने ।
गाउँसभाले काठेखोला गाउँपालिकाका कर्मचारीको व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ । कर्मचारीको व्यवस्थापन, वृत्तिविकासमा सहयोग पुराउन र काम गर्ने मनोबल विकास गर्नेगरी ऐन बनेको हो । गाउँसभाले विद्यालय व्यवस्थापक कार्यक्रम कार्यविधि पनि पारित गरेको छ ।

गाउँपालिकाभित्र विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्ति तथा संस्थालाई काठेखोला गाउँपालिकाले १६औँ गाउँसभामा सम्मान गरेको छ ।

गाउँपालिकाको गरिमा बढ्नेगरी योगदान गरेको भन्दै शिक्षा, कृषि, उद्योग, सञ्चारलगायत क्षेत्रका व्यक्ति तथा संस्थालाई सम्मान गरेको हो ।

गाउँपालिकाले एसइई र कक्षा १२ को परीक्षामा शतप्रतिशत नतिजा ल्याएको भन्दै धारा माध्यमिक विद्यालय र राष्ट्रपति रनिङ शिल्ड जितेको अमर माविलाई सम्मान गरेको छ । साना उद्योगमार्फत रोजगारी सृजना गरेको भन्दै फर्निचर व्यवसायी पूर्णबहादुर थापा सम्मानित भएका छन् ।
युगदर्शनबाट