रुपन्देहीमा रविको थुनछेक बहस जारी


बुटवल । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा जारी थुनछेक बहसले शुक्रबार पनि अन्तिम रूप पाउन सकेन । बुधबारबाट जारी बहस नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार दिनभर बयान भएको थियो भने बिहीबारबाट थुनछेक बहस भइरहेको छ।
शुक्रबारको बहसमा जाहेरीवालाका तर्फबाट २ जना र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गरेका छन् । सो प्रकरणमा पूरक अभियोग लागेका रविविरुद्धको थुनछेक बहसमा बिहीबार वादीका तर्फबाट आठ जना सरकारी वकिलले बहस गरेका थिए भने जाहेरवालाका तर्फबाट एक जनाले बहस गरे। बिहीबार सरकारी वकिलको बयान सकिएको छ।

उनीहरूको बहस नसकिएपछि आइतबार पुनः अदालत उपस्थित हुने सर्तमा रविलाई परिवारको जिम्मा लगाइएको छ । बुटवलको सुप्रिम सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पुरक उजुरीमा राखिएको हो । प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथी उजुरी गरिएको हो ।
उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौँमा ६० लाख धरौटी बुझाएर छुटेका हुन । बुटवलपछि उनले चितवन र पर्सा जिल्ला अदालतमा बयान दिन जान बाँकी नै छ । ती जिल्लावाट पनि पक्राउ पुर्जी जारी गरेपछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन् ।






















