प्रतिशोध साँध्ने सरकार विरुद्ध संसद्मा एक भएर प्रस्तुत हुन्छौँः प्रचण्ड


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अलोकतान्त्रिक र निरङ्कुश शैलीमा अध्यादेश ल्याएको बताउँदै विपक्षी दलहरुले सामूहिक विरोध गर्ने बताएका छन् । मंगलबार समाजवादी मोर्चा नेपालले काठमाडौँमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै प्रचण्डले संसद्मा रहेको विधेयक फिर्ता समेत नलिई अध्यादेश ल्याउनु सरकारको स्वेच्छाचारी र निरङ्कुश कदम भएको आरोप लगाए ।

उनले सरकार प्रतिमनतिर गइरहेको बताउँदै यसका विरुद्ध विपक्षी दलहरु सामूहिक रूपमा सदनमा प्रस्तुत हुने समेत बताए । उनले वर्तमान सरकार जनता र राष्ट्रविपरितको काम गर्दै मुलुकमा आर्थिक सङ्कट बढाउन उद्धत रहेको समेत बताए । उनले केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारीका संरक्षण गरेको र राजनीतिक विरोधीमाथि प्रतिशोध साँधेको आरोप समेत लगाए ।
उनले भने, ‘सरकारले अध्यादेशहरु बडो अलोकतान्त्रिक र निरङ्कुश तरिकाले ल्याएको छ । आफैँले भन्ने गरेको मान्यताविपरित सदनमा भएको विधेयक समेत फिर्ता नलिइकन जबरजस्ती जो अध्यादेश ल्याउने काम भएको छ यो स्वेच्छाचारी र निरङ्कुश छ । यो प्रतिगमनतिरको यात्राको पाइलाहरु नै हो भन्ने महसुस गरेर हामीले तुरुन्तै सदन बोलाइँदैन भने हामी विशेष अधिवेशन बोलाउन बाध्य छौँ र बोलाउँछौँ भनेपछि मात्रै सरकारले बल्ल सदन बोलाएको छ ।

हामी सदनको पहिलो दिनका बैठकभन्दा अगाडि फेरि एक पटक बैठक बसेर सामूहिक ढङ्गले कसरी सदनमा प्रस्तुत हुने, सकारले जनताको इच्छाविपरित र राष्ट्र विरोधी क्रियाकलापहरु र देशमा आर्थिक सङ्कट बढाउनका लागि जो काम गरेको छ, भ्रष्टाचारीलाई बचाउने जो काम गरेको छ । आफ्नालाई बचाउने र राजनीतिक विरोधीमाथि प्रतिशोध साँध्ने जुन काम भएको छ त्यसको बारेमा विपक्षी दलहरुलाई सामूहिक रुपले अगाडि बढाउने कोसिस पनि हामीले गरेका छौँ ।
प्रचण्डले मुलुकको विकासका लागि नयाँ समाजवादी क्रान्तिको आवश्यकता रहेको बताए । उनले केही मानिस र केही पार्टीहरु मुलुकको वर्तमान व्यवस्थालाई उल्ट्याउने कसरत लागिपरेको समेत बताए । उनले संविधान संशोधनको नाममा मजदुर र किसानको अधिकार खोस्ने दुष्प्रयास भइरहेको उल्लेख गर्दै यसको विरोधमा उत्रिनुपर्ने बताए । उनले देशका ठूला भनिएका राजनीतिक पार्टीहरु र तिनका नेताका विचारहरू समाजवाद उन्मुखतिर नभई प्रतिगमन र संविधानको लक्ष्यलाई पछाडि पार्नेतिर परिलक्षित रहेको टिप्पणी गरे । उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरोधी अभियान चलाउँदै मुलुकलाई आर्थिक हिसाबले राहत दिने काम गरेको समेत जिकिर गरे ।






















