आईटी क्षेत्रबाट वार्षिक १० खर्बबढी आम्दानी गर्न सकिने


काठमाडौँ । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको सम्मेलनमा वक्ताहरुले नेपालले आईटी जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिने बताएका छन् ।

कांग्रेसको पार्टी कार्यालय सानेपामा जारी नेपाल स्टार्टअप र एसएमई सम्मेलनको दोस्रो दिनको पहिलो सत्र “उद्यमशीलता र जनशक्ति विकासः आईटी क्षेत्रको लागि तयारी” शीर्षकमा भएको सामूहिक छलफलमा बोल्ने वक्ताहरुले आईटीमा थोरै लगानी गर्नसके राम्रो परिणाम हात पार्न सकिने बताएका हुन् ।
इनोभेटिभ नेपाल (आईएनजी) ग्रुपका प्रमुख सुलभ बुढाथोकीले नेपालको आइटी क्षेत्रमा धेरै अवसर भएकाले दक्ष जनशक्ति निर्माणमा लगानी आवश्यक भएको र हामीले आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्नसकेमा वार्षिक १० खर्बभन्दा बढीको आईटी सेवा निर्यात गर्न सकिने बताएका हुन् ।

उनले भने, अहिले हामीले दक्ष जनशक्ति निर्माणको लागि प्रयत्न गरिरहेका छौं । हरेक आईटी कलेजहरुमा कोटा नछुट्याइ सहजै आईटी पढन सकिने व्यवस्था गर्नुपर्ने नीति अवलम्बन गर्नुपर्छ भनेर लविङ गरिरहेका छौं ।
अहिले विश्वभर सबैभन्दा बढी आर्थिक उपार्जनको स्रोत बनेको पर्यटन क्षेत्रलाई पनि आईटीले उछिनिसकेको अवस्था रहेको उनले बताए । उनले थपे, सबैभन्दा पहिले स्टार्टअपलाई खुला नीति ल्याएर राज्यले अगाडि बढाउनु पर्छ । अहिले आईटी क्षेत्रमा सवा खर्ब लगानी भइसकेको छ । प्राक्टीकल एजुकेशनलाई अगाडि बढाएर ११(१२ पढेका विद्यार्थीलाई सहजै आईटी पढन सहजीकरण गर्नुपर्छ ।
युवा पुस्ताले पनि चुनौतीबाट भाग्ने नभएर त्यसलाई अवसरको रुपमा लिनुपर्ने उनको राय छ । अवसर चुनौतीको रुपमा आउने र चुनौती आउनेवित्तिकै अवसर हुन्छ भन्ने माइन्डसेट तयार गर्न आवश्यक छ, उनले भने, अरुले के सोचिरहेका छ भन्ने कुरा आफूले सोचेर उद्यम शुरु गर्न सक्यो र त्यसलाई गहनरुपमा केलाएर चुनौतीबाट नभागेर क्यास गर्न सकियो भने स्टार्टअप शुरु गर्न त्यति गाह्रो काम पनि छैन ।
त्यसैगरी त्रिभुवन विश्वविद्यालयका डीन प्रा. डा. महाननन्द चालिसेले अहिलेको समयमा प्राविधिक शिक्षासहितको व्यवसायिक ज्ञानमा राज्यले ध्यान दिनुपर्ने बताएका छन । उनले पढाइमा सरकारले प्राविधिक पक्षमा ध्यान दिनुपर्ने बताएका हुन् । जसका लागि त्रिभुवन विश्वविद्यालयले नीरन्तर आफ्नो तफबाट काम गरिरहेको पनि उनले जानकारी गराए ।
अहिले राज्यले विश्वविद्यालयसँग सहकार्य गरेर आईटी क्षेत्र र उद्यमका विभिन्न क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्ने विषय प्रा।डा। चालिसेले बताए । सीनासका कार्यकारी निर्देशक मिर्गेन्द्र कार्कीले परिवर्तनशील समय अनुसार सपना देख्ने, लगानी गर्ने, र प्रयोग गर्ने क्षेत्रलाई छुट्याएर त्यसको ब्रान्डीङसहितको प्रचार गर्न आवश्यक भएको बताएका छन् । उनले देशको भुगोल अनुसारको उत्पादित सामग्रीको राज्यले प्रबद्र्धन गर्न सकेको अवस्थामा हामी समग्र आर्थिक रुपान्तरण गर्न सहज हुने बताएका छन् ।
उनले थपे, स्टार्टअप, उद्यमशीलता र व्यवासयिक सिप तथा तालिमका विषय भूगोल अनुसार जनतालाई जागृत गर्न आवश्यक छ । वीपीले भनेको समग्र भूगोलमा रहेको जनताले आफ्नो हैसियत अनुसारको काम गरेर स्वतन्त्र रुपमा समृद्धिका साथ बाँच्न पाउने अधिकार नै मानवाधिकार हो । विश्वविद्यालय, राज्य र अभिवाभक सबैको सहकार्यबाट बन्ने जीवन निर्वाहको आधार नै उद्यम हो ।
योङ इनोभेसनका संस्थापक विभूषण बिस्टले राज्यले आईटी क्षेत्रलाई समेट्ने गरी नीति ल्याएको अवस्थामा अहिलेको तुलानामा पाँच गुणा बढी जनशक्ति उत्पादन गर्न सकिने र त्यही अनुसार सेवा निर्यात गर्न सकिने बताएका छन् ।
जुनसुकै फिल्डमा पनि समस्याको समाधान गर्न सक्ने क्षमता र जनशक्तिको आवश्यकता रहेको उनले औंल्याएका छन् । कक्षा कोठाको पढाइ र व्यवहारमा लागु गर्ने विषय आफैंमा फरक भएकाले त्यसको प्रयोग फिल्डमा पुगेपछि मात्र हुने बताए ।






















