सरोकारवाला भन्छन्ः निःशुल्क रगत लिने, सःशुल्क लिने ?


बुटवल । निःशुल्क रुपमा रगत उपलब्ध गराउन सरोकारवालाहरुले सरकारसंग माग गरेका छन् । मानसको जीवन बचाउने रगतको मुल्य लिन नहुने उनीहरुले बताएका हुन् । शनिबार बुटवलमा सम्पन्न नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको १२ औ वार्षिक साधारण सभामा बोल्ने सरोकारवाला निकायका प्रतिनिधिहरुले नागरिकबाट निःशुल्क लिने तर सोही रगत नागरिकलाई दिँदा सःशुल्क लिने काम तत्काल बन्द गर्नुपर्ने सरोकारवालाले सरकारसंग माग गरेका छन् ।

कुनै स्थानीय सरकारले आफ्ना नागरिकलाई रगत निःशुल्कको व्यवस्था गरेकाले अब सबै स्थानीय तहहरुले रगतमा लाग्ने कुनै पनि शुल्क नलिन आग्रह गरेका छन् ।
सोही कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले शिक्षा र स्वास्थ्य क्षेत्रमा बुटवल उपमहानगर हब बनेको दावी गर्दै सहजरुपमा रगत उपलब्ध गराउनु पर्ने र त्यसका लागि स्थानीय सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्दता जनाए । उनले बुटवलले अन्य १६ वटा जिल्लाको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले स्वास्थ्य संस्थाहरु अझै व्यवस्थित गरेर सेवा दिनुपर्नेमा जोड दिए ।

नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही अध्यक्ष कृष्ण चौहान क्षेत्रीले सबै नागरिकलाई रगत निःशुल्क उपलब्ध गराउनुपर्ने बताउँंदै यो वा त्यो बाहानामा रगतको पैसा लिन नपाईने बताए । उनले स्वास्थ्यको विषयमा तिनै तहका सरकारलाई संवेदनशील बनेर रगत निःशुल्क उपलब्ध गराउन आग्रह गरे । अध्यक्ष चौहानले १ सय ४२ पटक रक्तदान गरेर सेवा प्रदान गरेको जानकारी गराए ।
नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रीय उपाध्यक्ष ध्रुव थपलियाले रक्तदात गर्नुपर्छ भने बानीको विकास गर्न आमनागरिकमा सचेतना ल्याउनुपर्ने बताए ।
नेपाल नियमित रक्तदाता संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारीले रगतको अभाव गराउन नहुने बताउंँदै टोलटोलमा रक्तदान कार्यक्रम आयोजना गर्नुपर्ने बताए ।
सो अबसरमा नेपाल रेडक्रस सोसाइटी तथा रक्तसञ्चार सेवा केन्द्र बुटवल शाखामा विगत २६ वर्षदेखि कार्यरत निरन्जन राजभण्डारी र रक्तदाता युवाहरु कमल भण्डारी र सुमन घिमिरेलाई सम्मान गरिएको छ ।






















