बचत रकम यथाशीघ्र फिर्ता गर्न सहकारी पीडित संस्थाको माग

काठमाडौँ, फागुन २३ गते । सहकारी बचतकर्तासँग सम्बन्धित विभिन्न नौ वटा सङ्घसस्थाले बचत कर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग गरेका छन्।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ), लघुवित्त तथा वित्तिय शोषणविरुद्धको सङ्घर्ष समिति, सत्य र न्यायको खोजी भियानलगायत सङ्घसंस्थाले आज यहाँ संयुक्त रूपमा पत्रकार सम्मेलन गरी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गरी रकम अपचलन गर्ने सञ्चालनकलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गरेका हुन्।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ) का अध्यक्ष कुशलभ केसीले वर्षौँसम्म वित्तिय शोषण गर्ने सहकारी संस्थालाई कारबाही गर्दै पीडित सर्वसाधारणलाई न्याय दिने विषयमा सरकारले ढिला गर्न नहुने धारणा राखे।

लघुवित्त तथा वित्तिय शोषणविरुद्धको सङ्घर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले पीडित न्यायका लागि निरन्तर सङ्घर्षमा रहँदा पनि सरकारले न्यान दिन ढिलाइ गरिरहेको आरोप लगाए।

वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले पीडितको न्यायका लागि सरकारले आवश्यक रकमको कोष खडा गरेर उनीहरूलाई भुक्तानी गर्ने र अपचलन गर्ने संस्था तथा व्यक्तिलाई कारबाहीको दायरामा ल्याएर असुल गर्न सकिने सुझाव दिए।

वित्तिय शोषणविरुद्ध किसान मजदुर आन्दोलनका संयोजक मिटरब्याजी समस्या समाधानका लागि सरकारसँग माग गरे। रासस

८ हजार १५५ जना सहकारी पीडितको १ अर्ब ६७ करोड ६७ लाख २० हजार ५८ रुपैयाँ बचत फिर्ता
यता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ विज्ञ र आन्दोलकारीहरुसँग छलफल गरेर ल्याइएको बताएका छन्।

बिहीबारको राष्ट्रिय सभा बैठकमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले विगतमा सहकारी क्षेत्रमा अनियमितता भएको र अबबाट त्यस्तो हुन नदिन अध्यादेश ल्याएको बताए। सबै सहकारी गलत छैनन् भन्नेकुरा बुझ्न जरुरी रहेको बताए।

२०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाउने निर्णय भएअनुसार सरकारले चैत्र २० गते सहकारी स्थापना दिवसलाई पारेर देशव्यापी रुपमा मनाउने योजना बनाएको पनि मन्त्री अधिकारीले जानकारी दिए।

मन्त्री अधिकारीले अहिले काम नै गरेन भन्ने गरेको प्रति आपत्ति जनाए। फागुन २० सम्म माग दाबी गरेका ८ हजार १५५ जना सहकारी पीडितको १ अर्ब ६७ करोड ६७ लाख २० हजार ५८ रुपैयाँ बचत रकम फिर्ता गरिसकेको दाबी गरे।

पछिल्लो ४ महिनाको बीचमा ८ सय ऋणी सदस्य र वचतकर्ता सदस्यको बीचमा १ अर्ब १० करोड बराबरको हिसाव मिलान गरिएको बताए। १ हजार ऋणी सदस्यबाट ऋण असुल गरिसकेको र ३१ करोड वचत भइसकेको बताए। साथै ७ हजार ऋणी सदस्यहरुको बैंक खाता तथा अचल सम्पती रोक्का गरिएको बताए।
युगर्दशन अनलाइनबाट साभार