‘राजागंज’मा सेन्सर बोर्डको कैचीले निम्त्याएको लफडा

काठमाडौं । दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । यो फिल्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको केन्द्रीय चलचित्र जाँच समिति ९सेन्सर बोर्ड०को कैचीले गर्दा चर्चामा छ ।

फिल्ममा केपी शर्मा ओलीले यसअघि प्रधानमन्त्री हुँदा मधेशवादी दललाई ‘कुहिएको आँप’ भनी सार्वजनिक मञ्चमा दिएको अभिव्यक्ति समावेश गरिएको छ । सेन्सर बोर्डले यो विषयमा आपत्ति जनाउँदै कैंची चलाएको छ ।

‘राजागंज’का निर्देशक रौनियारका अनुसार फिल्ममा प्रयोग भएका शब्दहरूमा समेत सेन्सर लगाइएको छ । उनले भने, ‘फिल्ममा भारत, प्रधानमन्त्री जस्ता शब्द समेत हटाउन बोर्डको दबाब छ । सेन्सर बोर्डको यो कदमले पूर्वराजा ज्ञानेन्द्रले ‘कू’ गर्दा पत्रिकामा समाचार प्रकाशनका गर्नुअघि सेनाले सेन्सर गर्दाताकाको झल्को आएको रौनियारले बताए।

उनी थप्छन्, ‘सेनाले सेन्सर गरेर पत्रिकामा नछापिएको समाचारको स्थान खाली राखिन्थ्यो । मैले पनि सेन्सर बोर्डले कैँची चलाएको स्थानमा खाली राखेर फिल्म प्रदर्शन गरेको छु । बोर्डले हटाएको दृश्य खाली छ । त्यो दृश्य हटाउँदा पर्दामा देखिएको कालो स्थान मेरो विद्रोह हो ।

सेन्सर बोर्डको कैंचीले आफ्नो फिल्मको मूल मर्म नै मरेका कारण निर्देशक रौनियार असन्तुष्ट र आक्रोशित देखिन्छन् ।
उनी भन्छन्, ‘गणतन्त्रमा यस्ता गतिविधि हुनु भनेको सिर्जनामाथिको अंकुस हो । सेन्सर बोर्डको काम र यसको औचित्यमा प्रश्न ‘राजागंज’बाट शुरु भएको भने पक्कै होइन । यो फिल्मले सेन्सर बोर्डमाथि फिल्मकर्मीको आक्रोश सतहमा ल्याएको हो ।

यसअघि सेन्सर बोर्डको कैंचीमाथि चुप बसेका फिल्मकर्मी यो घटनापछि खुलेरै बोल्न लागेका छन् । उनीहरुले आफ्ना फिल्ममा अनावश्यक कैँची चलाइएको घटना बाहिर ल्याउन थालेका छन् । ‘राजागंज’मा सेन्सरको कैंचीपछि थप आक्रोशित बनेका फिल्मकर्मीहरुले शुक्रबार थापागाउँस्थित मण्डला थिएटरमा पत्रकार सम्मलेन गरेका छन् ।

त्यहाँ उनीहरुले सेन्सरका नाममा जथाभावी कैंची चल्दा आफूहरुको सिर्जनामा अंकुस लगाउने कार्य भएको दाबी गरे । पत्रकार सम्मलेनको वक्तामा निर्देशकहरु नवीन सुब्बा, दीपक रौनियार, मनोज पण्डित, गणेशदेव पाण्डे, दीपेन्द्र लामा, कलाकार दीपकराज गिरी, निर्माता अशोक शर्मा, नायक दयाहाङ राई, नायिका रिमा विश्वकर्मालगायत थिए ।

सेन्सर बोर्डका कर्मचारीले ‘कुतर्क’ गरेरसमेत आफूहरुको फिल्मका दृश्यमा कैंची चलाएको फिल्मकर्मीको दाबी छ । निर्देशक गणेशदेव पाण्डे भन्छन्, ‘फिल्म मञ्जरीमा एउटा कुटेको दृश्य थियो । सेन्सर बोर्डका कर्मचारीले मेरो मुटुको समस्या छ । यो दृश्य मैले हेर्न सकिनँ हटाउनुपर्‍यो भन्नुभयो ।

नायक दयाहाङ राईले फिल्ममा कुनै पनि देशको नाम उच्चारण गर्दा त्यसमा सेन्सर लागेको विषयले आफूलाई आश्चर्यमा पारेको बताए । उनले फिल्म ‘दुखी आत्मा’को संवादमा सेन्सर बोर्डले कैंची चलाएको विषयमा भने– मेरो फिल्ममा एउटा कविता थियो ‘ओ अमेरिका’भन्ने । हामीले त्यसमा अमेरिका भन्ने शब्द हटाउनुपर्‍यो । अर्को ‘डेमोक्रेटिक’ भन्ने शब्द पनि हटाउनुपर्‍यो । अब हामीले यो देश जान्छु भनेर फिल्ममा भन्न समेत नपाउने अवस्था सिर्जना भएको छ ।

कलाकार दीपकराज गिरी सेन्सर पास भएर प्रदर्शनमा आएपछि पनि सेन्सर बोर्डबाट फिल्मको संवाद हटाउने दबाबसमेत भोगेको सुनाउँछन् । दीपक भन्छन्– फिल्म ‘छक्का पञ्जा–४’ मा ‘श्रीमती भनेको बैंक हो, गर्लफ्रेन्ड भनेको सहकारी हो’ संवाद मैले सेन्सर पास भएर हलमा लागिसकेपछि हटाएँ । सेन्सरबाट ‘फेरि जाँच’मा परेको भनेर हटाउन लगाइयो ।

यी सेन्सर बोर्डबाट फिल्मकर्मी पीडित बन्नुपरेको प्रतिनिधिमूलक घटना मात्रै हुन् । शब्द वा दृश्यमै सेन्सरको कैंची चल्दा प्रायः फिल्मकर्मी सेन्सर बोर्डविरुद्ध रुष्ट छन् । यसरी जथाभावी सेन्सरको कैंची चलाइनुलाई फिल्मकर्मीहरुले सेन्सर बोर्डका कर्मचारीमा फिल्म ज्ञानको कमी रहेको ठहर गरेका छन् ।

फिल्म र सिर्जनाको ज्ञान नभएका व्यक्ति सेन्सर बोर्डमा पुगेकाले आफूहरु पीडित बन्नु परेको उनीहरूको बुझाइ छ । निर्माता अशोक शर्मा भन्छन्, ‘सेन्सर बोर्डमा गलत मान्छे छन् । फिल्म बुझ्ने मान्छेहरू त्यहाँ हुनुपर्छ । यसको अर्थ नायक र निर्देशक हुनुपर्छ भन्ने होइन । फिल्म नबुझेका मान्छेले हाम्रो फिल्ममा कैंची चलाइरहेका छन् ।

दीपकराज गिरी पनि चलचित्र नपढेका व्यक्ति सेन्सर बोर्डमा पुगेकाले यो समस्या उत्पन्न भएको तर्क गर्छन् । भन्छन्, ‘यो व्यक्तिगत आक्षेप होइन । सेन्सर बोर्डका कर्मचारी योग्यता र चलचित्र कर्म मेल खाँदैन जस्तो लाग्छ । जागिरका लागि उहाँहरूको शैक्षिक योग्यता अर्कै छ । फिल्म कर्म अर्कै हो । चलचित्र सम्बन्धी कुनै पनि अध्ययन नगरेको व्यक्ति सेन्सर बोर्डमा हुनु भनेको म एकदमै ठूलो नृत्य प्रतियोगिताको निर्णायक हुनु जस्तै हो ।

‘सेन्सरबोर्ड आवश्यक छैन’
सेन्सर बोर्डलेको कैंचीको डरले सिर्जना गर्दा नै कलम संकुचित पार्नु पर्ने अवस्थाबाट आफूहरू गुज्रिनु परेकामा फिल्मकर्मीको प्रमुख असन्तुष्टि हो ।

निर्देशक गणेशदेव पाण्डे भन्छन्, ‘मैले फिल्म लेख्दा कुनै समाज र समुदायले बोल्दा चयन गर्ने शब्द सेन्सर बोर्डले कैंची चलाउँछ भनेर डराउँदै लेख्नुपर्ने अवस्था छ । गणेशलाई जस्तै आफूलाई पनि कयौँ पटक महसूस भएको कलाकार दीपकराज गिरी बताउँछन् ।

भन्छन्, ‘म राजनीतिक विषयका बढी फिल्म लेख्ने गर्छु । सिर्जना गर्दा नै सेन्सर बोर्डको कैंची चलाउला भनेर डराउने पर्ने अवस्था छ । डरले नै कलम संकुचित हुन्छ ।

यसरी गणतान्त्रिक मुलुकमा सर्जकको कलमलाई संकुचित पार्ने सेन्सर बोर्डको अस्तित्व कल्पना भन्दा बाहिरको विषय रहेकोमा फिल्मकर्मीको एक स्वर छ । विकसित मुलुकमा सेन्सरको अभ्यास दुर्लभ भएकाले नेपालले पनि यसमा पुनर्विचार गर्नुपर्ने उनीहरुको माग छ ।

निर्देशक नवीन सुब्बा भन्छन्, ‘हामी विदेशमा फिल्म लिएर जान्छौं । त्यहाँका फिल्मकर्मीलाई हाम्रो देशमा फिल्म सेन्सर हुन्छ भन्दा जिब्रो टोक्छन् । यसले हामीलाई लज्जा हुन्छ ।

आन्दोलनको घोषणा
पछिल्लो समय सेन्सर बोर्डसँग फिल्मकर्मीहरु असन्तुष्ट बने पनि एकीकृत भएका थिएनन् । सार्वजनिकरुपमा सेन्सर बोर्डविरुद्ध फिल्मकर्मीहरु एकीकृत भएर प्रस्तुत भएको यो पहिलो घटना हो ।

अब भने आफूहरु आगामी वर्ष २०८२ लाई सेन्सर बोर्डविरुद्धको आन्दोलनमा विकास गर्ने उनीहरुले घोषणा गरेका छन् । निर्देशक मनोज पण्डितले भने, ‘सेन्सरसिपको आतंकविरुद्ध हामीले भित्र भित्रै आन्दोलनको तयारी गरेका छौं । आन्दोलन समिति गठन भएको छ । हामी यो ०८२ साल चाहिँ नेपालमा फिल्म सेन्सरसिपको विरुद्ध आन्दोलन वर्षका रुपमा संघर्ष गर्ने छौं ।