बुटवल– गोरुसिङे सडक किनारका रुख काटिदै

बुटवल, चैत ३ गते । बुटवल – गोरुसिङे सडक ६२ वर्षपछि विस्तार हुन थालेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगतमा पर्ने बुटवल–गोरुसिङे सडक खण्ड सिवस्तारका लागि अहिले सडक छेउका रुखहरु धमाधम काटिदै छ ।

बुटवल–गोरुसिङ्गे सडक खण्ड निर्माणको क्रममा सडकको मापदण्ड भित्रका करिब ७ हजार रुख काटिने बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलका प्रमुख कुशलता न्यौपानेले मिसन टुडेलाई जानकारी गराईन । एउटा रुख ढाले बापत १० वटा रुख रोप्ने सर्त अनुसार सडक आयोजनाले करिब ७० हजार रुख रोप्ने बताएको छ ।

सडक विस्तारका लागि पहिला सडक छेउको क्षेत्र खाली गर्नुपर्ने भएकाले केअही दिन यतादेखि रुख ढाल्नेकाम शुरु गरिएको हो । सडक विस्तारको क्रमसंगै चार वटा पुल बनाउने काम भैरहेको र विद्युतका पोलहरु सार्ने कामपनि भैरहेको सडक आयोजना कार्यालय बुटवल बताएको छ ।


बुटवलदेखि गोरुसिङेसम्म विस्तार गरिने सडक खण्डमा पर्ने रुपन्देहीको सैनामैना नगरपालिका सालझन्डी, बाँसगढी र रामापुर क्षेत्रका धेरैजसो रुख काटिएको छ । सडक विभागको अनुमतिमा रुख काट्न शुरु गरिएको हो । पुस्तौ अघिका पुराना पिपल, बर, स्वामी, सिमल जस्ता सित्तलता दिने थुप्रै सडक छेउका रुहरु कटान गरिएको छ ।

सडक विस्तारका क्रममा आवश्यक पर्ने निर्माण सामग्रीहरू ठाउँ–ठाउँमा भण्डारण गर्ने, सडक क्षेत्राधिकारमा पर्ने संरचना हटाउने, पुल बनाउने र अन्डरपास हुने स्थानको पुनः माटो परीक्षण गर्ने लगायतका काम पहिलो चरणमा सकिएको आयोजनाले बताएको छ । बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडक विस्तार गर्दा पुरानो पिच नभत्काइकन काम गर्ने गरी आयोजनाले आफ्नो तयारी थालेको छ ।

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेशन र चितवनको आशिष निर्माण सेवा जेभीले उक्त सडक विस्तार निर्माणका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा यही २०८१ असार १३ गते ठेक्का सम्झौता भएको हो । सम्झौता भएको मितिले ३ वर्ष अर्थात ०८४ असार १३ गते नै सडक विस्तारको काम सम्पन्न गर्नुपर्ने हुन्छ ।

सडक आयोजना बुटवल कार्यालयले दिएको जानकारी अनुसार ५० किलोमिटर सडक दुई चरणमा २५÷२५ किलोमिटर गरी विस्तार गर्न लागिएको हो । सडकमा गाडी गुडाउन मिल्ने छ वटा ‘अन्डर पास’, पैदल यात्रुका लागि १२ वटा ‘अन्डर पास’ र ११ वटा ‘ओभरहेड ब्रिज’, वन्यजन्तु वारपार गर्ने ठाउँमा १९ वटा ‘अन्डर पास’ बन्ने छन् ।

गत माघ १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुवलको माध्यमबााट बुटवल – गोरुसिङे सडकको शिलन्यास गरेका थिए ।
लामो समयदेखि बुटवल– नारायणगढ सडक विस्तार हुन नसक्दा ठूलो सास्ती भोग्दै आएका नागरिकले बुटवल– गोरुसिङे सडकको अवस्था पनि उस्तै हुने होकी भन्ने चिन्तामा छन् । बुटवल– नारायणगढ सडक विस्तार समयमा विस्तार हुन नसक्दा सडक यात्री तथा नागरिकले ठुलो सास्ती भोगेर यात्रा गर्न बाध्य छन् ।