फलामे ढोकाः आजदेखि पाँच लाख १४ हजार विद्यार्थीले परीक्षा दिँदै


काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई सञ्चालन हुनेछ ।

परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ ।
गत वर्ष २०८० को एसईई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ । परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ ।

परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ । यस वर्षको एसईई आजदेखि शुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
आजकल एसईईलाई फलामे ढोका भन्न छाडिए पनि विद्यार्थीलाई पढ्ने वातावरण नबनाउने तर उत्तीर्ण प्रतिशत ७० सम्म पुर्याउने सरकारको अभियानले भने परीक्षा निष्पक्ष हुनेमा शंका उब्जिएको छ ।
परीक्षा हुनुअघि शिक्षकहरु आन्दोलित हुनु, प्रधानमन्त्रीदेखि नेतासम्म जाँदा विद्यालय नै बन्द गरिनुले पनि शिक्षामाथि कत्तिको राजनीति भइरहेको छ भन्ने स्पष्ट हुन्छ ।






















