तीस करोडमा बन्यो मध्यविन्दु प्रादेशिक अस्पतालको नयाँ भवन


नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित मध्यविन्दु प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको करिब १२ करोड लागत र नेपाल हिल्फे संस्थाको १८ करोडको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

साँघुरो भवनका कारण सहज रुपमा सेवा दिन कठिन भइरहेको अवस्थामा नयाँ भवन निर्माणसँगै अब सहज हुने सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेशप्रसाद आचार्यले बताए । नयाँ भवनबाट केही दिनमा सेवा दिन थालिने छ ।
पन्ध्र शैयाको अस्पतालले पुरानो भवनबाट ८० शैयाको सेवा दिँदै आएको छ । बिरामीको चाप धेरै भएकाले आफूहरुले स्वीकृत दरबन्दीभन्दा धेरै श्यया सञ्चालन गर्नुपरेको मेडिकल सुपरिटेन्डेन्ट डा. आचार्यले बताए । स्वीकृत दरबन्दी पन्ध्र शैयाको मात्र हुँदा जनशक्ति अभाव झेल्नु परेको उनको भनाइ छ । हाल अस्पतालमा स्थायी, करार र अन्य गरी १६४ कर्मचारी कार्यरत छन् ।

सामुदायिक रुपमा सञ्चालित सो अस्पताललाई २०७५ सालमा जिल्ला अस्पतालमा परिणत भएको थियो । उक्त समय गण्डकी प्रदेश सरकारले १५ शैयाको जिल्ला अस्पताल कायम गरेको थियो । प्रदेश सकारको २०८१ पुस ९ गतेको मन्त्रिपरिषद्को निर्णयले यस अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा अघि बढाएको हो । अस्पतालले जग्गाको भोगाधिकार समेत प्राप्त गर्न सकेको छैन् । जमिन भोगाधिकारका लागि पहल भइरहेको भए पनि अस्पतालको नाममा आउन नसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरेले बताए । जमिनको भोगाधिकार नहुँदा अन्य दातासँग सहयोग लिन र नयाँ काम गर्न समस्या हुँदै आएको अध्यक्ष घिमिरेले दुखेसो पोखे ।
अस्पतालको वार्षिकोत्सव कार्यक्रममा गत फागुन २८ गते यहाँ आएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त अस्पताललाई एक सय शैयाको बनाउने उधारो आश्वासन दिए ।






















