झडपमा परी एक पत्रकारसहित दुईको मृत्यु, ३५ घाइते


काठमाडौँ। पूर्वराजाका समर्थकहरुले आज काठमाडौँको तीनकुने क्षेत्रमा गरेको प्रदर्शनका क्रममा भएको झडपमा एक पत्रकारसहित २ जनाको मृत्यु भएको छ । घटनामा ३५ जना घाइते भएका छन्।

गृह मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव छवि रिजालले प्रदर्शनका क्रममा भएको झडपमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको जानकारी दिए।
त्यस्तै तीनकुनेको घरबाट एभिन्युज टेलिभिजनका क्यामेरम्यान लाइभ गरिरहेका थिए। त्यस क्रममा राजावादीहरुले घरमा आगजनी गर्दा उनको जलेर मृत्यु भएको हो।

झडपमा घाइते भएका महर्जनको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो, सहसचिव रिजालले भने, काठमाडौँका विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा ३५ जना घाइते भएका छन्। गृह मन्त्रालयका अनुसार प्रदर्शनकारीतर्फ २३, सशस्त्र प्रहरीतर्फ ९ र नेपाल प्रहरीतर्फ तीन जना घाइते भएका छन्।






















