मनमोहक दृश्यः सर्वसाधारण लोभ्याउने बेगमबेली

बुटवल । बुटवल–बेलहिया सडकखण्ड अन्तर्गत तिलोत्तमा नगरपालिकाको क्षेत्रभित्र पर्ने १३ किलोमिटर सडक यतिबेला ढकमक्क फुलेको बेगमबेलीले सौन्दर्यता देखाएको छ । वसन्त ऋतुको आगमनसँगै सडकका डिभाइडरमा फुलेको बेगमबेलीले सडकलाई आकर्षक बनाउनुको साथै यात्रुहरुको मन लोभ्याएको छ ।

चार वर्षअघि तिलोत्तमा नगरपालिकाले सडकको सौन्दर्यकरणका लागि भन्दै लगाएको ‘बेगमबेली’को ढकमक्क मनमोहक दृश्यले सर्वसाधारणहरुको ध्यान तानेको छ ।

चारलेन सडक विस्तारपछि तिलोत्तमा ५ नयाँमिलका एक व्यवसायी सुरज काफ्लेले आफ्नो घर अगाडीको सडक डिभाइडरमा दर्लाम महाकाली हरियाली पार्क नाम दिएर हरियाली बनाएपछि स्थानीय तथा केन्द्रीयस्तरका अनलाईन, छापा र टेलिभिजन प्रकाशन एवं प्रशारण भएपछि यसको लहर नै चलेको थियो । डिभाइडरमा फुल रोपेर हराभरा बनाउने कार्यमा लुम्बिनी नर्सरी गार्डेनका सञ्चालक रमेश पाण्डेले ‘बकमबेली’ लगायत विभिन्न प्रजातिका फुलका बिरुवा रोपेर एउटा अभियान नै चलाए ।

‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ अभियान अन्र्तगत २०७४ सालमा जनप्रतिनिधि निर्वाचित भइसकेपछि अभियन्ताहरुले फुल रोप्ने कामलाई तीव्रता दिएका थिए । खरानीजस्तै देखिएको चारलेन सडकको ग्रिनबेल्ट अहिले हराभरा भइसकेको छ । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले ग्रिनबेल्टमा हुर्किएका फुल तथा रुख बिरुवाको संरक्षणमा विशेष ध्यान दिएका छौं । नगरपालिकाले ग्रिनबेल्टका विरुवा जोगाउन तारबार व्यवस्थापन र नियमित पानी सिंचाइ गरिरहेको छ । नगरप्रमुख खाँणले भने ।

‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ अभियानमा हालसम्म दुई लाख भन्दा बढी वहुगुणी फलफूल तथा वनस्पतिका विरुवाहरु लगाएको नगरभित्रका सडक अहिले फूलले राताम्मे भएका छन् । नगरपालिकाले सिटी फ्लावरको रुपमा बेगमबेली निर्धारण गर्दै जन्मदिनमा कम्तिमा एउटा विरुवा रोप्न नगरबासीलाई आह्वान समेत गरेको छ।

तिलोत्तमा नगरपालिकाको वातावरण विभागले फोहोर सङ्कलन, व्यवस्थापन, सडक तथा सार्वजनिक स्थान बढार्ने, झार उखेल्ने लगायत कामलाई नियमित गर्दै आएको छ ।