पूर्वराजा ज्ञानेन्द्रमाथि शंकरले लगाए गम्भीर आरोप

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत बङ्गलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहको योजना अनुसार गत शुक्रबार काठमाडौंमा आपराधिक क्रियाकलाप भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजावादी समूहबाट भएको उक्त आपराधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाउन खोजिएको भन्दै आपत्ति समेत जनाएका छन् ।

उनले लेखेका छन्– ‘पूर्वराजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न ‘जनकमाण्डर’ तोकिएका दुर्गा प्रसाईँद्वारा परिचालित गरिएका हुल्लडबाजहरुले गरेको आपराधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाएर पानीमुनिको ओभाने बन्न खोजिरहेका छन् राजावादीहरु । तर खुला समाजमा सबै कुरा छर्लङ्ग नै छ ।

उनले पूर्वपञ्च र राजावादीहरुले सबै अपराधको भारी दुर्गा प्रसाईँ र उनका अनुचरलाई बोकाएर उम्कन खोजेको भए थोरै भएपनि नेपाली जनताले विश्वास गर्ने आधार रहने भए पनि निर्मल निवासको ‘थ्रेट’ सामु राप्रपा निरीह देखिएको उल्लेख गरेका छन् ।