भित्र्याउन ठिक्क भएको ५२ बिघा गहुँबालीमा आगलागी


कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका ३ ठुलो सिसहानियामा आगलागीबाट ५२ बिघाको गहुँबाली जलेर नष्ट भएको छ । कम्बाइनले एक्कासी खेतमा आगलागी हुँदा ५२ बिघामा लगाइएको गहुँबाली जलेर नष्ट भएको स्थानीय सन्दीप गुप्ताले जनाएका छन् ।

करिब २ सय क्विन्टल बराबरको गहुँ बाली नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार ठूलो सिसहानिया गाउँको खेतमा गहुँ काट्ने क्रममा आगो लागेपछि सोही आगो १५ जना किसानको गहुँबालीमा सल्किएको थियो ।
आगलागी भएको सूचना पाए लगत्तै प्रहरी चौकी लबनीको टोली आगलागी स्थलमा खटिएको छ । प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको स्थानीयले जनाएका छन् ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । स्थानीय महिबुदिन मुसलमान, नैतुल्ला मुसलमान ,हकिकुल्ला मुसल्लमान लगायतको खेतमा आगो लागेको हो ।






















