वनबाटिका मतदान अपडेटः चार सय गन्दा ९५ मतले अगाडि खिमलाल


बुटवल । तिलोत्तमा नगरपालिका वडा न.१ र २ मा रहेको शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र वनबाटिकाको चौथो अधिवेशनमा भएको निर्वाचनको मतगणना जारी रहेको छ । बेलुका सात बजेर ५८ मिनेट जाँदाको अपडेट अनुसार स्वतन्त्र उम्मेदवार खिमलाल पाण्डेले एमाले, काँग्रेस गठबन्धनबाट अध्यक्षमा भिडेका इन्जिनियर किरण खरेललाई ९५ मतले पछाडि पार्दै अग्रस्थानमा रहेका छन् ।

खसेको कुल मत छ सय ६१ मध्ये चार सय मतपत्र गणना गर्दा स्वतन्त्र उम्मेदवार पाण्डे ९५ मतले अगाडि रहेको बताईएको छ । अब दुई सय ६० मत गणना गर्न बाँकी रहँदा गठबन्धनबाट उपाध्यक्ष पदमा उम्मेदवार दिएका मिनप्रसाद देवकोटा अगाडि छन् भने, स्वतन्त्रबाट सचिवमा बिदुर केसी अगाडि र गठबन्धनबाट कोषाध्यक्षमा मनिराम भट्टराई अगाडि रहेका छन् ।
विहान आठ बजेदेखि शुरु भएको मतदान दिउँसो सकिएको थियो । आजीवन र साधारण गरी सात सय ७५ जना सदस्य भएको मतदानमा छ सय ६१ जनाले मतदान गरे भने, एकसय १४ जना अनुउपस्थित रहेका निर्वाचन समिति प्रमुख मोहन चापागाँईले बताए ।

निर्वाचन समिति प्रमुख चापागाँईका अनुसार साढे २ बजेदेखि मतगणना शुरु गरिएको थियो ।






















