पाँच दिनमै खोसियो रविको सभापति पद

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्याललाई दिएको छ । केन्द्रीय सचिवालयको बसेको बैठकले सो निर्णय गरेको हो । यसअघि पनि डीपीले नै कार्यवाहक सम्हालेका थिए ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सो पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेको थियो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेत नेतृत्वको टोलीले नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।

उनका अनुसार लामिछानेलाई काठमाडौँको बूढानीलकण्ठस्थित हेपाली हाइटबाट नियन्त्रणमा लिइएको हो । सभापति लामिछाने पक्राउ भए लगत्तै सो पार्टीको सचिवालय बैठक बसेको हो । बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानूनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ ।

यस्तै आज शनिबार दिउँसो २ बजे चितवनको भरतपुरमा आयोजना हुन लागेको सभालाई शान्त र सौम्य बनाउन बैठकले निर्देशन दिएको छ ।रविले गत सोमबार चैत १८ गते सभापतिको जिम्मेवारी लिएका थिए ।

उनले नेताहरुका फाइल खोल्ने धम्की दिँदै आफू नितान्त चोखो रहेको प्रमाण पेश गर्दै नेता कार्यकर्तालाई उरालेका थिए । उनले अहिलेको तन्त्रप्रतिसमेत असन्तुष्टि राखेका थिए । अहिलेको तन्त्रबाटै पार्टी गठन गरेर ०७९ को संसदीय निर्वाँचनमा भाग लिएर चौथो ठूलो दल भएको बिर्सेर रविले एकाएक शीर्ष दलहरुप्रति आक्रोश पोख्दै उनीहरुसँग बसेर फोटो खिच्ने रहर नभएको बताएका थिए ।

यसपालि रुपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उनलाई थुनामा पठाउने आदेश भएसँगै प्रहरीले शुक्रबार साँझै प्रक्राउ गरेको हो । उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई थुनामा पठाउने आदेश गरेको थियो ।

उक्त मुद्दामा रुपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा हुने आदेश गरेको थियो । उच्च अदालतले उक्त मुद्दा बदर गर्दै रविलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।