तिलोत्तममा ग्रेनाइट र हुलासको उद्योग सञ्चालन


श्यामलाल पोखरेल
बुटवल, चैत २३ गते । एकपछि अर्को उद्योगहरु सञ्चालन भैरहेका छन्, रुपन्देहीको तिलोत्तममा । पछिल्लो समय आर्थिक मन्दी देखिएपनि ठुला ठूला लगानीमा तिलोत्तममा उद्योगहरु सञ्चालनमा आएका छन् । यही चैत महिनामा तिलोत्तममा २ वटा उद्योग सञ्चालनमा आएका छन् ।
तिलोत्तमा नगरपालिका वडा नम्बर १५ को सखवानीमा ग्रेनाइट उत्पादन शुरु गरिएको छ । यो उद्योग यस क्षेत्रकै पहिलो हो । ग्रेनाइट उद्योग नहुंदा छिमकी देश भारतबाट खरिद गरेर विक्री वितरण गरिएको थियो ।

यही चैतको ५ गतेबाट ग्रेनाइटको उत्पादन हुरु भएपनि २१ गते बिहीबार यो उद्योगको उद्घाटन गरिएको हो । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले उद्घाटन गर्दै नगर क्षेत्रका उद्योगहरुलाई संरक्षणका लागि सहयोग गर्ने बताए । रोजगारी दिने र आर्थिक चलायमान बनाउने उद्योगहरु खोल्नु पर्ने बताउंदै तिलोत्तमा नगरपालिका उद्यागी व्यवसायीहरुको साथमा रहेको बताउंदै उनले भने – तपाईहरु ढुक्क भएर उद्योग चलाउनुस लगानीको सुरक्षाका लागि हामीले सहयोग गर्छौ ।
एक बिघा जमिन लिजमा लिएर तिलोत्तमाका ७ जना उद्योगी व्यवसायीले एभरसाईन ग्रेनाइट प्रालिमार्फत गे्रनाईटको उद्योग सञ्चालनमा ल्याएका हुन् । तिलोत्तमा हेमराज पौडेल, भुपाल गिरी, क्षितिज शर्मा, भूमिराज सुवेदी, पदम रेग्मी, तोयानाथ खनाल, राजेश कोठारीले यो उद्योग सञ्चालन गरेका हुन् । उद्योग सञ्चालनका लागि आजसम्म करिव १० करोड खर्च भैसकेको र अझै २ करोड खर्च लाग्ने एभरसाईन ग्रेनाइट प्रालिका सञ्चालक हेमराज पौडेले जानकारी गराए ।

सञ्चालक पौडेलका अनुसार १२ करोड भन्दा माथि लगानी लाग्ने उद्योगले अहिले २० जनालाई रोजगारी दिएको छ । भारतको राजस्थान र हैदराबादबाट कच्चा पदार्थ ल्याएर ग्रेनाइट उत्पादन गर्न थालिएको छ ।
रुपन्देहीमा गे्रनाईट उत्पादन हुन थालेपछि पहिला भन्दा धेरै सस्तो पर्ने सञ्चालकहरुले बताएका छन् । अब गे्रनाईटमा प्रति स्क्वारफुट एक सय रुपैयां सस्तो पर्ने र मार्वल लगाउन नसकेका मानिसले ग्रेनाइट लगाउन सक्ने उद्योग सञ्चालकहरुले बताएका छन् ।
देशको आर्थिक अवस्था कमजोर हुंदै गएको बेला नयां नयां उद्योग खुल्न थालेपछि खुशी लागेको र राज्यले उद्योगी व्यवसायीलाई लगानमैत्री वातावरण बनाइ दिए नयां उद्योगहरु खुल्दै जाने तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र काकीले बताए ।
तिलोत्तममा हुलास पाता उत्पादन
बुटवल, चैत २३ गते । रुपन्देहीको तिलोत्तमा नगररपालिकामा हुलास स्टीलको सर्भिस सेन्टर सञ्चालनमा आएको छ । बिरगञ्जमा उद्योग रहेको हुलासको पहिलो पटक नेपालमा रुपन्देहीको तिलोत्तमा सर्भिस सेन्टर स्थापना गरिएको हो ।
हुलास कम्पनीबाट उत्पादन हुने हुसालका कर्कट पाता अब भट्टराई हार्डवयरले उत्पादन गर्ने भएको छ । तिलोक्तमा नगरपालिका वडा नम्बर ९ मा रहेको भट्टराई हार्डवयर सप्लायर्स प्रालिले सञ्चालन गरेको भट्टराई हार्डवयरबाट हुलासका पाताहरु उत्पादन गरिने छ । पहिलो पटक रुपन्देहीबाट उत्पादन गर्न लागिएको हुलासका कर्कट पाताको उत्पादन शुरु भएको भट्टराई हार्डवयर सप्लार्य प्रालिका अध्यक्ष नारायणप्रसाद भट्टराईले जानकारी गराए । 
हुलासका कर्कटपाता उत्पादन गर्न ३ करोडको लगानी गरिएको हुलास कम्पनीका म्यानेजर सुनिल मनोत जेनले जानकारी गराए । उपभोक्ताको माग अनुसार हुलास पाताहरु अब हामीले आजको भोलीनै दिन सकिने र थोरै पाता पनि सहजै उपलब्ध गराउन सकिने उनले बताए ।
हुलास कम्पनीका म्यानेजर सुनिल मनोत जेनका अनुसार पश्चिम क्षेत्रलाई तारगेट गरेर रुपन्देहीबाट उत्पादन शुरु गरिएको हो ।
हुलासका पाता रुपन्देहीमा उत्पादन भएपछि अब पहिला भन्दा सस्तो रेटमा पाइने बताईएको छ । बिरगञ्जमा उत्पादनमा भएका हुलास पाता रुपन्देही ल्याएर विक्री वितरण गर्दा केही महङो परेको र अब पहिला भन्दा केही सस्तो दरमा दिन सकिने भट्टराई हार्डवयरका सञ्चालक दिपक भट्टराईले बताए । अहिले १० जनाले रोजागारी पाएको र यसको विस्तार हुंदै गएपछि रोजगार गर्ने मानिसको संख्या बढ्ने सञ्चालक दिपक भट्टराईले बताए ।
हुलास सर्भिस सेन्टरको उद्य्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले हुलास अरु भन्दा भरपर्दो कम्पनी भएकाले यसको उत्पादन र व्यवसायमा सहयोग पुराउने बताए । उनले मुलुकको आर्थिक विकासलाई सहयोग पुराएकाले हुलास लगायत तिलोत्तममा रहेका सबै उद्योगहरुको संरक्षणका लागि नगर सरकारले साथ दिने प्रतिवद्वता जनाए ।
तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले देशको अर्थतन्त्र चलायमान बनाउन धेरैभन्दा धेरै एदोगहरु सञ्चालन गर्नुपर्ने र आयतलाई रोकेर निर्यात गर्नुपर्नेमा जोड दिए । कर्कट पातामध्ये हुसाल पातालाई दीर्घकालिन टिकाउ हुने हुलास कम्नीले बताएको छ । हुलास पाता सौर्य किरण तथा विकिरण परावर्तन क्षमता भएको मान्निछ ।






















