बारमा सत्ता गठबन्धनको जित


काठमाडौँ । नेपाल बार एसोसिएसनमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानून व्यवसायी समूहले कब्जा जमाएको छ । मतगणनाको तेस्रो दिन बुधबार नै लोकतान्त्रिक समूहले व्यावसायिक कानून व्यवसायी समूहको भन्दा अग्रतालाई दोब्बर भन्दा पनि बढी बनाएर जित सुनिश्चित गरिसकेको छ ।

बिहीबार ५६० मतमात्र गणना हुन बाँकी राखिएको छ । अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रले व्यवसायिकका अध्यक्षका उम्मेदवार रमन श्रेष्ठसँगको मतान्तर दोब्बर भन्दा बढी गरी जित सुनिश्चित गरेका छन् ।
मतगणनाको बुधबारको अन्तिम गणनाअनुसार मिश्रले ४८९२ मत ल्याउँदा श्रेष्ठले २२२९ मतमात्र ल्याएका छन् । बारमा अध्यक्षका लागि समूहगत दुई र स्वतन्त्र तीन जना गरी पाँच जनाबीच भिडन्त भएको हो । अधिवक्ता आषिश पौडेलले ५२ अधिवक्ता राजु कैतीले ४६, र अधिवक्ता उज्वल घिमिरेले ४४ मत पाएका छन् ।

वरिष्ठ अविधक्ताद्वय प्राडा मिश्र र श्रेष्ठ फरक–फरक प्यानल नै बनाएर चुनावमा प्रतिस्पर्धामा छन् । सबै पदमा मिश्र प्यानल दोब्बर भन्दा बढी मतले नै अगाडि छ । अब गन्न बाँकी सबै मत श्रेष्ठ टिमले ल्याए पनि मिश्र टिम दोब्बर मतले नै विजयी हुनेछ ।
बारमा नेपाली कांग्रेस निकट र नेकपा एमाले निकट अधिवक्ताहरुको प्रतिस्पर्धा हुँदै आएकामा यसपालि कांग्रेस र एमालेबीच नै गठबन्धन भएपछि माओवादी र नेकपा एस निकटको गठबन्धन कमजोर भएको हो ।
प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार नौ हजार ९५७ मतदाता रहेकामा ७ हजार ९९५ मत खसेको छ । बारको २५ नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।






















