अत्याचार दुराचार सहेर राप्रपा बस्दैनः लोहनी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले नेपालमा राजनीतिक सन्तुलन मिलाउन चुनौती रहेको बताएका छन् । बुधबार काठमाडौंमा राजसंस्था पुनः स्थापना जनआन्दोलन समितिले आयोजना गरेको कार्यक्रममा उनले विश्वको राजनीति निकै असन्तुलन गतिमा अगाडि बढेको बताए ।

उनले राज्यले शान्तिपूर्ण आन्दोलनमाथि दमन र बिना कारण पक्राउ गरेर थुनेको आरोप लगाउनु भयो । उनले राज्यको क्रूरतालाई सहेर पार्टी चुप नबस्ने भन्दै सङ्घर्ष शान्तिपूर्ण वा हिंस्रक दुवै हुनसक्ने चेतावनी दिए । इतिहासमा रामले अनेकौँ उपाय अपनाउँदा पनि रावणले अत्याचार गर्न नछोडेपछि अन्तिममा हिंस्रक भएर अत्याचारको अन्त्य गरेको भन्दै पार्टीले शुरु गरेको आन्दोलन जुनसुकै तहमा पुगेर भए पनि सफल गराउने उनको भनाइ छ । उनले नेपालीहरुको मनोवैज्ञानिक सुरक्षाका लागि राजसंस्था अपरिहार्य भएको दाबी गरे ।

उनले भने, अब सङ्घर्ष गर्ने समय आएको छ । रावणलाई प्रवृत्तिलाई कसरी हटाइएको थियो ? रावण प्रवृत्ति हटाउन रामचन्द्रले हरेक उपाय गरे । अन्तिममा गएर सङ्घर्ष गर्नुपर्‍यो । सङ्घर्षले मात्रै रावण हटेर गयो, रावण प्रवृत्तिको अन्त्य भयो । नेपालमा आजको अवस्थामा जुन तरिकाले राज्यले दमन गर्न खोजेको छ, जुन तरिकाले सत्य तथ्य बोल्ने व्यक्तिलाई थुन्न खोजेको छ, उनीहरुलाई हत्या गर्न खोजेको छ, त्यसको विरुद्धमा संघर्षसिवाय अर्को उपाय छैन् ।

सङ्घर्ष शान्तिपूर्ण र हिंस्रक पनि हुन्छ । राप्रपाले भनेको छ हामी शान्तिपूर्ण सङ्घर्षमा जान्छौँ । तर शान्तिपूर्ण सङ्घर्षलाई कमजोर नसम्झ । अत्याचार दुराचार सहेर राप्रपा मुख बन्द गरेर बस्दैन । हामी अगाडि बढ्छौँ । नेपालीहरुलाई मनोवैज्ञानिक सुरक्षाका लागि राजसंस्था चाहिएको छ ।

नेता डा. लोहनीले नेपालको राजसंस्था नेपालीहरुलाई एकताबद्ध बनाउने संस्था भएकाले परम्परालाई जोगाउँदै संवैधानिक राजसंस्था पुनः स्थापना गर्नुपर्ने दाबी गरे ।