बुटवल मेडिकल कलेजका लागि जग्गा उपलब्ध गराउने निर्णय

बुटवल, चैत २८ गते । बुटवल मेडिकल कलेजका लागि रुपन्देहीको शंकरनगर सामूदायिक वनले ५० विघा जग्गा दिने सहमति जनाएको छ । साधारण सभाको आयोजना गरी शंकरनगर सामूदायिक वन उपभोक्ता समूहले मेडिकल कलेज बनाउन आवश्यक पर्ने ५० विघा जग्गा दिनका लागि प्रस्ताव पारित गरेको हो ।

समूदायको संरक्षणमा रहेको सामूदायिक वन उपभोक्ता समूहले सहमति जनाएपछि मेडिकल कलेज बनाउन अब समस्या नहुने संकेत देखिएको छ । यो कलेज निर्माणका लागि जग्गा प्राप्त गर्न ढिलाई भएका कारण ६ वर्षदेखि रोकिएको कलेज निर्माणको कामले अब गतिलिन्छ की भन्ने केही आशा जागेको छ । तर कलेज निर्माण गर्दा काटिने रुख शंकरनगर सामूदायिक वन समूहले आफुले उपभोग गर्न पाउनु पर्ने माग राखेको छ । उक्त माग पुरा नभए फेरी पनि बकलेज निर्माणको काममा ढिलाई हुन सक्ने अवस्था पनि छ । वन विभागले यसबारे अझै केही बालेको छैन ।

बुटवल मेडिकल कलेजलाई जग्गा भोगाधिकारका लागि सामुदायिक वनको शिफारिस आवश्यक पर्ने भएकाले सामुदायिक वनले विशेष साधारणसभाको आयोजना सबैको सहमतिमा प्रस्ताव पारित गरिएको शंकरनगर सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष रविन्द्र बस्नेतले बताए ।

एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले बुटवल मेडिकल कलेज देशकै गौरवको आयोजना भएकाले सामूदायिक वनको जग्गा मेडिकल कलेजलाई दिने गरी प्रस्ताव पारित गर्नुले सकरात्मक सन्देश दिएको बताए ।
वन क्षेत्रमा कम क्षती हुने गरी मेडिकल कलेज स्थापना गर्दा सबैका लागि हित हुने र कलेजका विभिन्न संरचना निर्माण गर्दा कम रुख कटान गर्न स्थानीय उपभोक्ताले सुझाब दिएका छन् ।

डिभिजन वन कार्यालय रुपन्देहीका डिभिजन प्रमुख प्रविण विडारीले वन धर्म संस्कारसंग जोडिएकाले वनको उचित संरक्षण गर्नुपर्ने बताए । वन जंगलको क्षेत्रफल घट्दै गएकाले वन क्षेत्रलाई बढाउन समूदायको ठूलो हात हुने भएकाले सडकदेखि विभिन्न परियोजनाका नाममा वन क्षेत्र घट्दै जान थालेकाले संरक्षणमा ध्यान दिन आग्रह गरे । सामूदायिक वनको जग्गामा अन्तर्राष्ट्रियस्तरको मेडिकल कलेज बन्ने भनेपछि स्थानीयले सहज रुपमा बन्ने बुटवल मेडिकल कलेज खोल्नका लागि सहमति जनाएका हुन् ।

बुटवल मेडिकल कलेजका निर्देशक दिलिप देवकोटाले स्थानीय उपभोक्ताको भावनाको कदर गर्दै मन्त्रीपरिषद्को निर्णय र प्रचलित कानुन अनुसार सहजीकरण गर्ने बताए ।
सामूदायिक वनले जग्गा दिने प्रस्ताव पारित गरेपछि वन मन्त्रालयबाट रुख काट्नका लागि स्वीकृति लिएर पर्खाल लगाएर पहिलो चरणको काम शुरु गरिने आयोजनाका कार्यालय अधिकृत चुडामणि मरासिनेले मिसन टुडेलाई जानकारी गराएका छन् ।

कलेज निर्माणका लागि ईआईए अध्ययन अनुसार ११ हजार रुख काट्नुपर्ने देखिएपनि सबै रुख नकाटिने आयोजनाको कार्यालयले बताएको छ ।

अहिले मेडिकल कलेज निर्माणका लागि रुखहरु छपान गर्ने काम शुरु भएको शंकरनगर सामूदायिक वन उपभोक्ता समूहले जानकारी गराएको छ ।
आयोजनाका कार्यालय अधिकृत चुडामणि मरासिनीका अनुसार पहिलो चरणमा ४८१ वटा रुख काटेर बुटवल मेडिकल कलेजको जग्गा वरिपरि पर्खाल लगाईने छ ।

मुटु र क्यान्सर सम्बन्धी उपचारका लागि छुट्टै अस्पताल बनाउने योजना रहेको उक्त बुटवल मेडिकल कलेज ६ वर्ष भित्र सम्पन्न गर्ने योजना छ ।
करिव ५८४ हेक्टर क्षेत्रफलमा फैलिएको शंकरनगर सामुदायिक वनको सेवा क्षेत्र तिलोत्तमा नगरपालिकाका वडा नम्वर १, २, ३ र ४ रहेको छ ।

शंकरनगर सामूदायिक वनको ८२ विगाहा जग्गा भूमाफियाहरुले अतिक्रमण गरेपछि कानुनी प्रक्रियाबाट आएको वनको जग्गा जोगाउन स्थानीयले बढी चासो दिएका छन् । अहिले यही जग्गामा बुटवल मेडिकल कलेज निर्माणको तयारी छ ।

बुटवल मेडिकल कलेज निर्माणका लागि ५० विघा जग्गा दिन २०७८ साल जेठ ३१ गते बसेको नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो ।