प्रसाईँद्धारा भारतमा आत्मसमर्पण

बुटवल । तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाईले भारतमा आत्मसमर्पण गरेका छन् । भारतको आसाम राज्यमा उनले आत्मसमर्पण गरेका हुन्। प्रहरी स्रोतका अनुसार, उनलाई काकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै छ।

उनी प्रहरीको सम्पर्कमा पुगेको प्रसाईको परिवारले पनि पुष्टि गरेको छ । तर, परिवारका ती सदस्यले प्रहरीले पक्राउ गरेको नभई सुरक्षाका लागि आफै आसाम प्रहरीको सम्पर्कमा पुगेको बताए।

प्रसाईसँगै भागेका उनका सहयोगीहरु भने आफै नेपाल फर्कँदै छन् । प्रसाई भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पहिल्याएको थियो । उनी फरार भएपछि पनि दुईवटा भिडिओ सामाजिक सञ्जालमा अपलोड गरेका थिए।

प्रसाई भागेलगत्तै नेपाल प्रहरीको विशेष ब्युरोको टोली पछ्याउँदै पुगेको थियो । विशेष सूचनाका आधारमा ब्युरोको टोली भारतमा उनी रहेको स्थानको नजिक पुगिसकेको बताइएको छ । प्रहरी पुगेको सुइँको पाएपछि त्यहाँबाट पनि भागेर उनी सामाजिक सञ्जाल समेत नचलाएर गुपचुप बसेका थिए ।

तर, हिजो बुधबार मात्र उनले सामाजिक सञ्जालमा अर्को भिडिओ राखेर आफू भागेको नभई असुरक्षित रहेका कारण जोगिएको बताएका थिए । चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाईको नेतृत्वमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि २ जनाको ज्यान गएको थियो । व्यापक तोडफोड, आगजनी र लुटपाट गरिएको थियो ।